back
CTIZAN AD

रोपाइँ गर्न पाएनन् पर्वतका किसानले

वि.सं.२०७६ साउन २१ मंगलवार

1K 

shares


२१ साउन, पर्वत । साउनको तेस्रो सातासम्म पनि खेतमा धान रोपाइँ गर्न नपाउँदा पर्वतका कृषक चिन्तित छन् । गएको हिउँदमा असिनाका कारण ठूलो नोक्सानी व्यहोरेका कृषक धानसमेत रोप्न नपाएकामा भोकमरीको चिन्तामा परेका हुन् । भएको मकै जति असिनाले खायो । फलेवास नगरपालिका–३, शङ्करपोखरी रुग्दीका किसान मोतीबहादुर भण्डारीले भने , “धाराको पानी हालेर रोपेको धानको बिउ खडेरीले खायो । खान नलेखेको कर्म, भोकभोकै मर्न पर्ने हो कि ।”,

गत जेठमा बाक्लो गरी परेको असिनाले फलेवासका किसानको सबै मकै सोत्तर पा¥यो । पसाउने बेलाका मकै असिनाले छिया–छिया बनाइदियो । असिनाले मकै सखाप बनाएपछि न त मान्छेले खाने मकै बाँकी रह्यो न त पशुपक्षीलाई खुवाउन नै तर असारमा राम्रोसँग वर्षा भइदिए धान राम्रो फलेर मकैबाट भएको क्षति पूर्ति होला भन्ने आशमा यहाँका किसान थिए ।

वैशाख र जेठमा असिना परेर पीडित भएका यहाँका किसानले असार र साउनमा वर्षा नहुँदा फेरि पनि प्रकृतिबाटै ठगिएको गुनासो गरे । “मकै भित्र्याउन पाइएन, असिनाले खायो । अलिअलि बाँचेका मकै पनि खडेरीले सक्यो”, रुग्दीका बाबुराम पौडेलको दुखेसो थियो ।

असिनाले मकै बाली सखाप पारेको चोट आलै रहेका बेलामा धानको हालत पनि उस्तै भएकाले यहाँका किसान भोकमरीमा परिने चिन्तामा छन् । “मकै त एउटा गेडो पनि खान पाइएन, अब धानको पनि आशा नगरे हुने भयो”, मुडिकुवाका प्रेम विकले भने, “परिवारको पेट पाल्न अब मकै र चामलको जोहो कसरी गर्ने भन्ने चिन्ता छ ।”

सधैँका वर्षजस्तो भए यतिबेला रोपाइँ सकिने बेला भएको छ । तर यस वर्ष अधिकांश ठाउँमा रोपाइँ नभएको कृषि ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले बताए।

“आइतबार मात्रै पनि जलजलामै राम्रो धान फल्ने क्षेत्रको अवलोकन गरेर फर्केको छु । खेत र किसानको मुहार हेर्दा बिजोग छ । रोपाइँ गरेर हरियो धान हुने खेतमा झार उम्रिएको छ”, उनले भने “वैशाख र जेठमा धेरै असिना प¥यो, धेरै ठाउँको मकै सोत्तर प¥यो । अहिले वर्षा नभएर खेत बाँझै छ, रोपेको खेतमा धाँजा फाटेको छ, धानका बिरुवा सुकेका छन् ।”

सिँचाइको सुविधा नभएकाले मुसाले धानका बीउसमेत काट्न थालिसकेको पीडित किसानले बताए । अघिल्लो वर्ष धान पसाएपछि मात्र खेतमा मुसा लाग्ने गरेकामा यस वर्ष बीउ नै काट्न शुरु गरिसकेको छ । साउनमा रोपिएकोभन्दा असारमै रोपिएको धानको बीउले छिट्टै गाँज हाल्ने र उत्पादन पनि बढी दिने कृषि प्राविधिकहरू बताउँछन् ।

यस वर्ष समयमै रोपाइँ नभएकाले धान उत्पादन घट्न सक्ने उक्त केन्द्रका प्रमुख रेग्मीको भनाइ थियो । पर्वतमा करीब नौ हजार हेक्टर क्षेत्रफल जग्गा धानखेतीका लागि योग्य छ । तर पछिल्ला वर्ष आवश्यकता अनुसारको पानी नहुनु, उत्पादनयोग्य भूमिमा घडेरी बनाउनु, सडक विस्तारका क्रममा खेत नष्ट हुनु, बसाइँसराइका कारण गाउँको खेतबारी बाँझै रहनुलगायत कारणले आठ हजार ७०० हेक्टर क्षेत्रफलमा मात्र मात्र धान लगाउने गरिएको तथ्याङ्क छ । पर्वतमा प्रतिहेक्टर जमीनमा २।८ मेट्रिक टन धान उत्पादन हुने गरेको छ । (रासस)

वि.सं.२०७६ साउन २१ मंगलवार १४:२४ मा प्रकाशित

धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर

धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर

गण्डकी । धौलागिरि हिमाल आरोहणबापत यस याममा सरकारले एक करोड...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

दमौली (तनहुँ) । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा दमौलीमा...

साइत हेराएर मात्र यसरी गरिन्छ भिर मौरीको शिकार !

साइत हेराएर मात्र यसरी गरिन्छ भिर मौरीको शिकार !

नवीन लामिछाने, मनाङ । विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको...

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगरपालिका स्थापना दिवस यस वर्ष भव्य कार्यक्रमसँगै सम्पन्न भएको...

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

काठमाडौँ । नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’मा यस वर्षको दोस्रो...