झरनासँग रमाउँने मन
खै किन
डराउने गर्छ घरिघरि ।
यी त्रसित आँखाहरु
किन देख्छन्
पहराका छातीबाट
तँछाडमछाड गर्दै झरेका ती
चञ्चल, उत्ताउला छाँगाहरूलाई
विधवाको सिउँदोजस्तो ।
मनभरि
एकल जिन्दगीको पीडा बोकेर
के कल्पना गर्न सक्छु र म !
उराठ घरभित्र एक्लै सिर्फ एक्लै
आफ्ना भावना उराल्छु,
जसरी खहरे उर्लिन्छ
र
क्षणभरमै सुक्छ ।
आमाबाट छुटेर रुँदारुँदा उसै निदाएको बच्चा सपनामा चिच्याएजस्तै गरी,
घरका भित्ता चिच्याउँछ्न्
सुन्दर बन्नलाई ।
खेलबारी आफ्नो उर्वरा छाती फिजाएर
पर्खिरहन्छन् मलाई ।
भन्छन्,
खेल मलबिउको खेल
र उब्जाऊ सुनौलो उब्जनी ।
चरा चिर्बिराउँदै भन्छन्
जाग,उठ गर केही ।
गाई सहानुभूति दिन्छ
आँखाभरि आँसु पारेर ।
तर मेरो अबुझ मन परिवारको
साथ चाहन्छ ।
मेरो घर, मेरो संसार
उजाड उजाड भएको छ,
थाहा छ मलाई ।
मैले उठ्नु छ
पहाड बनेर,
गर्नुछ नवसिर्जना
तर
श्रम र सिर्जनाको जोस
कहाँ हरायो ?
कहाँ हरायो
आँट हिम्मत र जाँगर !
किन भाग्छन् हँ एकल भएपछि
सारा खुसीहरू ?
मलाई खोज्न मन छ,
बुझ्न मन छ
र
देखाउन मन छ
मेरो ताकत ।
वि.सं.२०७६ साउन २५ शनिवार ०८:३६ मा प्रकाशित





























