जाओ दास बनेर हे तनय हो छोडेर नेपाल यो
आओ लास उठाउने दिन गनी देखावटी चालको
खप्छन् दैनिक दुःखकष्ट घरमा आमा र बाबाहरु
पढ्छौ के कुन शास्त्रका गफ दिई फेर्छौ नि भाका अरू ? (१)
तिम्रा हात र पाउका बल अहो बढ्दै गएछन् तर
को हुन् ती दिनरात कष्ट नभनी दिन्थे तिमीमा भर ?
त्यस्ता देव समान मातृ ममता लत्याउँदै छौ किन
रून्छन् हेर पिता सदैव मुटुमा गाँठो छ दैनन्दिन (२)
होला वैभव प्राप्तिका विषय ती स्व-स्वार्थका खातिर
आफ्नै जन्म दिने स्वदेश नबुझे के सुक्ख हो आखिर ?
झुल्ने हो परदेशमा यदि भने यो जन्मकै सार के ?
भुल्ने हो यदि जन्मभूमि सहजै अस्तित्व तिम्रो छ के ? (३)
पैसा कुस्त कमाउने रहरमा माता पिता भुल्नुमा
आफ्नै देश छ स्वर्ग बुझ्न नसकी त्यो दासता चुन्नुमा
पक्कै रोग बढेर मानसिक त्यो गल्छौ तिमी सम्झनू
आफैं वृद्ध हुँदा कुनै भर विना मर्छौ तिमी सम्झनू (४)
वि.सं.२०७६ साउन २८ मंगलवार ०८:३६ मा प्रकाशित






























