२९ साउन । मगलबार साँझ कतारको दोहास्थित जैदा पार्कमा नेपाली नागरिकमाथि भएको सांघातिक हमलामा एक नेपालीको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले जारी गरेको प्रेस विज्ञप्तीमा सुनसरी जिल्ला निवासी तबरेज अन्सारीको मृत्यु भएको पुष्टि गरिएको छ । मृतक अन्सारीको शव आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इमाद अस्पतालको शव गृहमा राखिएको जनाइएको छ ।
उक्त घटनामा उमर अन्सारी गम्भिर अवस्थामा रहेको उनको इमाद अस्पतालमा उपचार भैरहेको विज्ञप्तीमा उल्लेख छ । इब्रामिह अन्सारी र नौसाद अन्सारी खतरामुक्त अवस्थामा रहेको बताइएको छ ।
सो घटनामा संलग्न रहेको आशंकमा प्रहरीको नियन्त्रणमा रहेका अकवर मिया र महसुद अन्सारी दूतावासको भ्रमण पश्चात हिरासत मुक्त भएको, उनीहरु पनि घाइते रहेको बताइएको छ । घाइतेहरु सबै सुनसरी जिल्लाको भएको जनाइएको छ ।
सो घटनामा संलग्न दोषीलाई कानुनी कारवाहीका लागि दूतावासले आवश्यक पहल गरिरहेको जानकारी गराउँदै दूतावासले मृतक तथा घाइतेहरुको विस्तृत विवरण परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित परिवारलाई उपलब्ध गराइने विज्ञप्तीमा जनाएको छ ।
दूतावासले विज्ञप्तीमा अत्यावश्यक कामबाहेक अन्य बेला अनावश्यक भिडभाड हुने क्षेत्रमा नजान र जानै पर्ने भए आवश्यक सर्तकता अपनाउन कतारबासी नेपालीलाई आग्रह गरेको छ ।
बुधबार साँझ नेपालीमाथि बंगाली नागरिकले आक्रमण गरेको र नेपाली नागरिक मारिएको अस्पष्ट समाचार दिनभर सामाजिक सञ्जालमा आएका थिए ।
वि.सं.२०७६ साउन २९ बुधवार २०:४८ मा प्रकाशित





























