छोरा बुहारीले घरबाट निकाली दिए । पुषको जिउ काम्ने जाडो बुढा बुढीको सडकको बास भो । बुढी दम्माको बिरामी । चिसोले स्वाँ स्वाँ हुने । साँस लिन गाह्रो हुने । बुढा दिन भरि माग्ने । खाने कुरा किनेर ल्याउने मिलेर खाने । बचेका पैसाले ओखति मुलो चल्थ्यो ।
बुढाले गरेको दुःख सहन नसकि बुढी रुँदै भन्छिन्–मलाई छाडेर जाउ । मेरो लागि कति दु ःख गर्छेउ ।
बुढीको आँसु पुछ्दै बुढा भन्छ– तँलाई रोजेर ल्याको हो । यस्तो हालतमा कसोरी छोडेर जाने भन्ता ।
बुढी रुँदै भन्छिन्–म आज हो कि भोली । तिम्रो दुःख हेरि सहन्न । मलाई मर्न छाडेर जाउ ।
बुढाले सम्झाउँछ–हरेस नखान । तलाई केहि हुन् दिन्न । मेरो सहारा भरोसा जे भनेनी तै त होस् ।
समयको खेल पनि कस्तो ? दुनियालाई शिक्षा दिने सहयोग गर्ने । उपकारी गर्ने । भलो गुन गर्ने मास्टर साहेबको, आज आफै पाटीको बास । एउटा छोरो पढायो हुर्कायो । छोरोको इच्छामा गाउँका घर खेत सबै बेचेर शहरमा घर बनाए । बिहे गर्दिए । बुढेसकालमा उही छोरोले घोक्रे ठ्याक लगाएर घरबाट निकाल्दिए ।
कठाङ्ग्रो जाडो तेस्मा पनि दम्माको विरामी साँस लिन असह्य हुन्छ । खोकीले बेसरी च्याप्न थाल्छ । बुढीको पिडा देखेर बुढाको आँखाबाट आँसु झर्न थाल्छ । पिठ्युमा बोकेर सरकारी अस्पताल लाग्छ । डाक्टरलाई रुँदै अनुनय गर्छ ( डाक्टर साहब मेरो पत्नीलाई दमले गर्दा साह्रै पिडा भएको छ । म संग औषधि मुलो गर्न पैसा पनि छैन । कृपया बचाई दिनुहोस् । फोहर जिउभरि च्यातेको लुगा लगाएको बुढो मान्छेलाई देखेर डाक्टर अचम्म हुँदै भन्छ– तपाई कुर्सीमा बस्नु होस् । म आम्मैको उपचार गर्छु । चेक गर्छ दवाई लेख्छ । यो ओखति नजिकको औषधि पसलबाट किनेर ल्याउनुस् भनेर ५०० को नोट खल्ती बाट झिकेर दिन्छ । बुढोले औषधि किनेर ल्याउछ । डाक्टरले आफ्नै हातले आम्मैलाई औषधि खुवाई दिन्छन । केहि बेर पछि बुढीको दम र खोकी बन्द हुन्छ ।
डाक्टरले सोध्छ–माधव सर, मलाई चिन्नु भो ?
आफ्नो नाम किटेर भनेको सुनेर बुढा अचम्म पर्दै भन्छन्–चिनिन बाबु ।
डाक्टरले भन्छ-म अनिल । मैले पैसा नभएर एसएलसिको जाँच दिने फारम भर्न नसक्दा हजुरले आफ्नो तलबबाट कट्टा हुने गरि फारम दर्ता गरि दिनु भएको थियो । याद छ हजुरलाई ।
बुढा अलि सम्झिदै भन्छ– ए ! सम्झे अनिल भट्ट हो तिमी ।
डाक्टर हाँस्दै भन्छ- हो सर । हजुरले त्यो दिन पैसा नराखेको भए आज म डाक्टर हुने थिईन । द्खेसो मान्दै सोध्छ- कसरि हजुरको यो हालत भयो ? बुढा रुँदै सबै ईति वृतान्त सुनाउछन् । डाक्टरले आँसु पुछी दिदै भन्छ- न आत्तिनुस म छु नि । हिड्नुस मेरो घर । संगै बसौला । मेरो जन्मदिने आमा बुवा बिति सक्नु भो । आज देखि हजुरहरुनै मेरो कर्मदिने आमा बुवा हुनु भो ।
वि.सं.२०७६ साउन ३२ शनिवार ०९:०२ मा प्रकाशित





























