२ भदौ, इस्लामाबाद । पाकिस्तानमा भएको विस्फोटनमा परी कम्तीमा छ जनाको मृत्यु भएको छ ।
खैबर पाख्तुङ्ख्वा प्रान्तअन्तर्गत पर्ने अपर डिर जिल्लामा आइतबार बेलुकी विस्फोटन भएको अधिकारीहरूले जनाएका छन् ।
घटनामा परी अरु आठ जना घाइते भएको प्रहरीले जनाएको छ । अपर डिरको जिल्ला प्रहरी अधिकृतले सञ्चारमाध्यमहरूलाई दिएको जानकारीअनुसार स्थानीय शान्ति समितिका नेता चढेको सवारी साधन नजिकै विस्फोट भएको हो ।
अपर डिरको गामाडाण्डा भन्ने ठाउँमा विस्फोटन भएको र विस्फोट रिमोट कन्ट्रोलबाट गराइएको थियो ।
घटना भएको थाहा पाउने बित्तिकै सुरक्षाकर्मी र उद्धारकर्ताहरूको टोली घटनास्थलमा पुगेको थियो । घाइतेहरूलाई उनीहरूले तत्कालै अस्पताल लगेका थिए ।
सुरक्षाकर्मीहरूले घटनाका दोषीको खोजी भइरहेको जनाएको छ । घटनाका बारेमा अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन । सिन्ह्वा
वि.सं.२०७६ भदौ २ सोमवार ०८:४४ मा प्रकाशित





























