१९ अगस्त, बेलायत । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) युकेको उपाध्यक्षको उम्मेदवार रहेका प्रेम गाहा मगरले पदको लागि मरिहत्ते गर्नु समाज र समुदायका लागि समर्पित कार्यकर्तालाई नसुहाउनले बताएका छन् ।
यो भन्दा पहिले अध्यक्ष पदमा आफ्नो उम्मेदवार घोषणा गरेका प्रेम गाहा मगरले सहमति र समाबेशीताको आधारमा अध्यक्षका अर्का प्रत्याशी शेर सुनारलाई समर्थन गरेको संसारन्युजलाई बताएका छन् ।
उनले एनआरएनए जस्तो सामाजिक संस्थामा लागेर पदकै लागि मरिहत्ते गर्न नहुने बताउँदै यसपटक सहमतिमै शेर सुनारलाई सहयोग र समर्थन गरेको बताए । उनले भने, ‘ संस्थामा रहेर समुदायका लागि काम गर्न पदनै चाहिन्छ भनेर मरिहत्ते गर्नु त्यति शोभनिय होइन, यीनै सोच लिएर सहकर्मी, साथीहरु, शुभचिन्तक तथा अग्रजको सल्लाहमा मैले शेर सुनारलाई अध्यक्षमा समर्थन गरेर आफू पछि हटेको हुँ ।’
२४ वर्षदेखि बेलायतमा रहँदै आएका गाहा मगरले एनआरएनए युकेको सदस्यता वृद्धि गर्ने क्रममा आएका अप्ठ्याराहरुका बारेमा बताउँदै समाजमा लागि केही गर्छु भनेर अगाडि बढ्ने व्यक्तिलाई अप्ठ्यारो स्थिति सिर्जना भएको अनुभव समेत गरेको बताए ।
जाति, धर्म पार्टी नभनेर समावेशी नारालाई अंगालेर आफू अगाडि बढिरहेकोले शेर सुनारको जित नै आफ्नो जित रहेको समेत गाहा मगरले बताए ।
‘जुन निस्वार्थ भावना लिएर यस संस्थामा छिरेको थिए, २००६ देखी एनआरएनएमा केही गर्छु भन्दै लाग्दै आएको र दलित समुदायबाट आउनु भएका शेर दाइलाई बेलायत एनआरएनएको नेतृत्व गर्नुस् भनेर छोडेकोमा सानो भएपनि समावेशीताको संस्कारको विकास गराए जस्तो लागेको छ ।’
उनले २०१९–०२१ मा पनि आफूले उपाध्यक्षमै रहेर संस्थाका बाँकी कामहरु गर्दै जाने बताएका छन् । ‘म एकजनाको त्याग र लचकताले समग्र संस्थाको हित हुन्छ भने मैले व्यक्तिगत आकांक्षालाई महत्व दिइराख्नु उचित हुँदैन भन्ने ठानेरै यस्तो निर्णय लिएको हुँ,’ संसारन्युजसँगको कुराकानीमा उनले भने, ‘ एनआरएनए युकेको भावी कार्यसमितिमा पनि उपाध्यक्षकै रुपमा रहेपनि मैले अध्यक्षको पदमा उम्मेदवारी दिँदा गरेका प्रतिबद्धतालाई त्यत्तिकै महत्वका साथ कार्यान्वयन गराउने कोशिषमा लाग्नेछु ।’
स्मरण रहोस्, एनआरएनए युकेको अध्यक्षका दावेदार रहेको संघका चार बहालवालाहरु उपाध्यक्षहरु प्रेम गाहा मगर, ललित न्यौपाने र सुशीला राई एकै ठाउँमा उभिदैं शेर सुनारको नेतृत्वमा चुनावमा जाने साझा प्रतिबद्धता गरेका हुन् ।
अध्यक्षका दावेदार तीन जनाले शेर सुनारलाई समर्थन गरेपछि अबको चुनावी मैदानमा अध्यक्षका अर्की उम्मेदवार पुनम गुरुङ र शेर सुनारबीच अध्यक्ष पदमा निर्वाचन हुने भएको छ । एनअराएनए युकेको निर्वाचन यहि सेप्टेम्बर १४ मा हुँदै छ ।
वि.सं.२०७६ भदौ २ सोमवार १८:५८ मा प्रकाशित





























