१० असोज, काठमाण्डौं । नेपाल बायु सेवा निगमका १४ वटा मध्ये ८ जहाज ‘ग्राउन्डेड’ छन । तिनको प्रयोग हिनता त छदैछ, विमानस्थलमा थन्किएवापत तिनुपर्ने शुल्क निकै महँगो पर्छ । वाइडवडी जहाज थन्किदा पार्किङ शुल्क मात्र दिनको करिब दुई लाख रुपैयाँ तिनुपर्छ । एक साताभन्दा लामो समयदेखि एउटा वाइडबडी विमानस्थलमा छ ।
त्यसले दैनिक १६ सय ९८ अमेरिकी डलर भाडा तिर्नुपर्दछ । हालको विदेशी विनिमय दर ११३ रुपैयाँ अनुसार यसले दैनिक १ लाख ९१ हजार ८७४ रुपैयाँ तिर्नुपर्दछ । ‘विमानस्थल सेवाशुल्क विनियमावली २०७६’ अनुसार कुनै पनि जहाजलाई तीन घण्टासम्म पार्किङ निःशुल्क छ । त्यसपछि हरेक ५ घण्टामा एक पार्किङ हुन्छ । एक दिनलाई चार पार्किङ हिसाब गरेर नागरिक उड्डयन प्राधिकरणले दैनिक पार्किङ शुल्क तोक्छ । यो जहाजको तौलअनुसार हुने शुक्रबारको नागरिक दैनिकले लेखेको छ ।
एक वर्षदेखि ग्राउन्डेड एउटा बोइङ छ । १९० सिट क्षमताका बी७५७ एसीबी नामको यो जहाज २०७५ मंसिरदेखि ग्राउन्डेड छ । यसले पार्किङ शुल्क दैनिक ५५९.२० अमेरिकी डलर ( ६३ हजार १८९ रुपैयाँ) तिर्छ । यो मासिक करिब १८ लाख ९५ हजार हुन्छ । मंसिरयता १० महिनामा यसले १ करोड ८९ लाख ५६ हजार ८ सय ८० रुपैयाा तिरिसकेको छ ।
वि.सं.२०७६ असोज १० शुक्रवार ०९:३० मा प्रकाशित
























