१८ कार्तिक , पेरिस । संयुक्त राष्ट्रसङ्घ शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) ले सञ्चारमाध्यम र पत्रकारलाई लक्षित गरी हिंसा बढेको भन्दै नियन्त्रणका लागि चासो व्यक्त गरेको छ ।
शनिबार परेको पत्रकारविरूद्ध हुने अपराधमा दण्डहिनता अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा युनेस्कोले ‘बढ्दो आक्रमण, नयाँ सुरक्षा’ नाम दिइएको पछिल्लो तथ्याङ्क सार्वजनिक गर्दै पछिल्लो पाँच वर्ष ९सन् २०१४-२०१९० मा सन् २००९–२०१३ को तुलनामा पत्रकारमाथिको आक्रमण १८ प्रतिशतले बढेको उल्लेख गरेको छ ।
पत्रकार हत्याका घटनामा आएको परिवर्तनको यो प्रवृत्ति हेर्दा पछिल्ला दिनहरूमा पत्रकारहरूले राजनीतिक समाचार, आपराधिक घटना र भ्रष्टाचारविरोधी समाचार लेखेका कारण मृत्युको सामना गर्नुपरेको उल्लेख छ ।
विश्वभर सन् २००६ देखि २०१८ सम्म पत्रकारलाई मारिएका झण्डै ९० प्रतिशत मुद्दाहरू अनिर्णित रहेका युनेस्कोको रिपोर्टमा उल्लेख छ ।
युनेस्कोका महानिर्देशक आयुद्रेय अजोलायले भने, “पत्रकारहरूले आफ्नो जीवन खतरामा राखे, मारिए र पत्रकारविरोधी हिंसा रोक्न केही नगरिएका घटनाजस्ता तथ्याङ्कलाई रेकर्डमा ल्याएको युनेस्कोले बताएको छ । पत्रकारको हत्याले सत्यको खोजीलाई कहिल्यै अन्त्य गर्नसक्दैन ।”
संयुक्त राष्ट्रसङ्घको सन् २०१३ मा सम्पन्न महासभाले नोभेम्बर २ लाई पत्रकारविरूद्ध हुने अपराधमा दण्डहिनता अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।
सन् २०१३ नोभेम्बरमा मालीमा हत्या गरिएका फ्रान्सेली पत्रकारको सम्झना र विश्वका पत्रकारहरूको हितका लागि नोभेम्बर २ लाई पत्रकारविरूद्ध हुने अपराधमा दण्डहिनता अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो ।
वि.सं.२०७६ कात्तिक १८ सोमवार ०९:१२ मा प्रकाशित





























