१९ कार्तिक, काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधन सञ्चालन सम्बन्धी सूचना जारी गरेको छ ।
विभागले मगंलबार सूचना जारी गर्दै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०३ र दफा १०४मा भनिएबमोजिम गर्न गराउन यो सूचना प्रकाशित गरिएको हो ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १०३ मा “ चार घण्टा भन्दा बढीको दुरीमा चल्ने यात्रीवाहक सार्वजनिक सवारीले प्रत्येक चार घण्टामा एक पटक आधा घण्टा विश्राम लिनुपर्ने भनिएको छ ।
त्यस्तै दफा १०४ मा लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रीवाहक सार्वजनिक सवारीमा कम्तीमा दुई वटा चालक अनिवार्य रुपमा राखी प्रत्येक ६ घण्टा पछि पालैपालोसँग सवारी चलाउन लगाउने कर्तव्य यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक वा सवारी धनीको हुने ” भन्ने कानूनी व्यवस्था रहेको पनि सुचनामा बताइएको छ ।
तर ऐनमा भने बमोजिम यसको प्रभावकारी रुपमा कार्यान्वयन नभएको पाइएको विभागले बताएको छ । अब लामो बाटोमा सञ्चालन हुने सार्वजनिक सवारी सञ्चालकहरुले ऐनको उपरोक्त प्रावधानको अनिवार्य कार्यान्वयन गराउन यो सूचना प्रकाशन गरेको छ ।
सरकारले अब ऐनमा उल्लेख भएबमोजिमको नियम पालना नगरेमा कानून बमोजिम कारर्वाही गरिने पनि सूचनामा भनिएको छ ।
वि.सं.२०७६ कात्तिक १९ मंगलवार १४:१५ मा प्रकाशित






























