९ मसिंर, हेटौँडा । प्रदेश नं ३ सरकारले प्रदेशमा फलफूल तथा जडीबुटीको उत्पादन वृद्धि गर्न तथा हरियाली बढाउन अत्याधुनिक प्रविधिमा बिरुवा उत्पादन गर्ने गरी नर्सरी स्थापना गर्ने भएको छ ।
फलफूल तथा जडिबुटीको बृहत वृक्षरोपण गर्न सरकारले आधुनिक प्रविधिको ‘हाइटेक नर्सरी’ सञ्चालन गर्ने भएको हो ।नर्सरी स्थापनाका लागि सरकारले रु ६ करोड छुट्याएको जनाइएको छ । हाललाई प्रदेशका दुईवटा जिल्लामा हाइटेक नर्सरी स्थापना गर्न लागिएको जनाइएको छ ।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मकवानपुर र काठमाडौँ जिल्लामा उच्चतम प्रविधिको प्रयोग गरेर हाइटेक नर्सरी स्थापना गर्न लागेको हो । नर्सरी यसै वर्षदेखि स्थापित हुने जनाइएको छ ।
हाइटेक नर्सरी स्थापनाका लागि मन्त्रालयले रु छ करोड विनियोजन गरेको र यसै वर्षदेखि काम गर्ने तयारी गरिएको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले जानकारी दिए । हाइटेक नर्सरीमा फलफूल र जडीबुटीका विरुवा उत्पादन गर्ने तयारी गरिएको उनले बताए ।
प्रदेशका सबै जिल्लाका नागरिकका लागि आवश्यक विरुवा हाइटेक नर्सरीबाट उत्पादन गर्ने र आवश्यकताअनुसार प्रदेशका जिल्लामा वितरण गरिने बताइएको छ ।
वि.सं.२०७६ मंसिर ९ सोमवार १४:५४ मा प्रकाशित





























