१० मसिंर, न्युयोर्क । अमेरिकी राष्ट्रपतिका का लागि उम्मेदवारी दिने क्रममा अर्बपति माइकल ब्लुमबर्गले पनि उम्मेदवारी दिने औपचारिक निर्णय गरेका छन् ।
न्युयोर्क सिटीका पूर्वमेयरसमेत रहेका ब्लुमबर्ग डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा औपचारिक रूपमा सामेल भएका छन् ।
उनीँ अमेरिकी धनाढ्यको सूचीमा आठौँ नम्बरमा पर्छन् । आर्थिक पत्रिका फोब्र्सका अनुसार उनको सम्पत्ति ५४.४ बिलियन अमेरिकी डलर रहेको छ ।
उम्मेवारी घोषणाका लागि जारी वक्तव्यमा ब्लुमबर्गले ‘डोनाल्ड ट्रम्पलाई पराजित गर्न र अमेरिका पुनःनिर्माणमा लागि’ आफ्नो उम्मेदवारी रहने उल्लेख गरेका छन् ।
पचास अर्बभन्दा बढी अमेरिकी डलर का मालिक ७७ वर्षका ब्लुमबर्गले अमेरिकाको पुनःनिर्माण र ट्रम्पको पराजयका लागि निर्वाचनमा जाने निर्णय लिएको बताए । उनको उम्मेदवारीको घोषणा अमेरिकामा पहिलो प्राथमिक मतदानभन्दा तीन महिना पहिले भएको हो ।
उनले भने, “हामीले निर्वाचन कुनै पनि हालतमा जित्नुपर्छ ।” यद्यपि राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिकका तर्फबाट उम्मेदवारी पाउन उहाँले उक्त दलका डेढ दर्जन नेताहरूलाई जित्नुपर्नेछ ।
तर उनलाई अहिलेसम्ममा उम्मेदवारीका लागि डेमोक्रेटिकका नेताहरू, पूर्वउपराष्ट्रपति जो बाइडेन, सिनेटर एलिजाबेथ वारेन र बर्नी सान्डर्स तथा मेयर पिट बुट्जजको चुनौती प्रमुख रहेको देखिन्छ ।
उम्मेदवारीको घोषणा गर्दै ब्लुमबर्गले अमेरिकी राष्ट्रपति (रिपब्लिकन नेता) ट्रम्पलाई हराउन डेमोक्रेटिकबाट आकाञङ्क्षी रहेका उम्मेदवारहरू आवश्यकता जतिकै बलियो नरहेको बताए ।
सन् २००१ मा न्युयोर्कको मेयर भएका ब्लुमबर्गले लगातार तीन कार्यकाल (१२ वर्ष) मेयर बनेका थिए ।
वि.सं.२०७६ मंसिर १० मंगलवार १०:०४ मा प्रकाशित





























