२३ मसिंर, काठमाडौँ । नेकपा सचिवालय बैठक आज सोमबार दिउँसो एक बजे बस्दैछ ।
प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउने सहमतिपछि सोमबार दोस्रो पटक सचिवालय बैठक बस्न लागेको हो । सोमबारको बैठकमा उपनिर्वाचनको समीक्षात्मक रिपोर्टमाथि छलफल हुने एजेण्डा छ ।
पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा सभामुखको उमेदवार चयन, स्थायी समिति बैठकको मिति निर्धारण र उपनिर्वाचनको समीक्षा हुने अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को सचिवालयले जनाएको छ ।अघिल्लो सचिवालय बैठकले उपनिर्वाचन भएका सबै ठाउँबाट समीक्षा रिपोर्ट मागेको थियो ।
मंसिर ४ गते अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच जिम्मेवारी वाँडफाँटबारे सहमति भएको थियो । सचिवालय बैठक बस्नुअघि प्रचण्डले ओलीसहित नेकपा नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।प्रचण्डले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए भने आइतबार वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलसँग परामर्श गरेका छन् ।
कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि प्रचण्डको अध्यक्षतामा मंसिर १८ गते पहिलोपटक सचिवालय बैठक बसेको थियो ।
मंसिर १८ गते बसेको सचिवालय बैठकले मंसिर १४ गते उपनिर्वाचन भएका ३७ वटै जिल्लालाइ उपनिर्वाचनको समीक्षा पठाउन निर्देशन दिएको थियो ।
वि.सं.२०७६ मंसिर २३ सोमवार १०:२६ मा प्रकाशित





























