गाउंमा वास्तविकरुपमा कृषिकर्म गर्नेहरुको हालत के छ ? ताप्लेजुङ सदरमुकामबाट आधाघण्टाको दूरीमा रहेको नाङखोल्याङ्गका किसान कमल खतिवडालाई भेटे थाहा हुन्छ ।
शहरमा ‘कृषि विकास’को कुरो गरिसाध्य छैन । गोष्ठी सेमिनार, प्रोजेक्ट र प्रोजेक्टरको व्यापार, अनुदानमा लगानी र कमिसनको खेल, भ्रमण सवथोक छ । शहरी कृषिमा के छैन ? सबथोक छ ।
तर, गाउंमा वास्तविकरुपमा कृषिकर्म गर्नेहरुको हालत के छ ? ताप्लेजुङ सदरमुकामबाट आधाघण्टाको दूरीमा रहेको नाङखोल्याङ्गका किसान कमल खतिवडालाई भेटे थाहा हुन्छ ।
अघिल्लो वर्ष केही समयको अवधिमा खतिवडाले पालेका ५० औं बाख्रा मरे । एक दिन, दुई दिनको फरकमा बाख्रा मर्दै गए । के भयो, कसो भयो भन्ने सोधखोज गर्दा कसैले पनि उहांलाई समाधान दिएन, सहयोगको त कुरै छोडौं ।
भए भरका बाख्राहरु मरेर ८,१० वटा बाँकी रहँदा बल्ल खतिवडालाई थाहा भो—पिपिआरको समस्याले पो बाख्रा मरेका रहेछन् । जबकि त्यो आफैमा कुनै ठूलो महामारी नै होइन रहेछ ।
तर, खतिवडालाई त्यही माहामारी भैदियो । ‘थाहा नभएपछि यस्तै हुन्छ । मेरो मात्र होइन, गाउँका धेरै किसानको हालत यस्तै हो । सानो समस्याले किसानलाई बेहाल बनाइरहेको छ ।’ खतिवडाले हिजो मसंग भन्नुभयो । शहर बजारका भब्य होटलका कोठाहरुमा हुने ‘कृषि विकासको क्रान्ती’ले कन्सलट्याण्ट र प्रोजेक्टरका व्यापारीहरुको भब्य विकास भए पनि फार्म नै चलाउने किसानहरु भने स—सानो समस्याले बेहाल भैरहेका छन् भन्ने कुराको एउटा दृष्टान्तको रुपमा खतिवडालाई लिन सकिन्छ । तर, तिनीहरुका ‘त्यस्ता जाबो समस्या’ कृषि विकासको ‘मोडल तयार’ गर्न सक्रिय रहेका सरकारी हाकिम र विज्ञहरुको लागि के अर्थ ?
जे होस् अघिल्लो वर्षको हण्डरपछि अहिले खतिवडा भने आफ्नो डुविसकेको बाख्रापालन व्यवसायबाट व्युतने प्रयासमा हुनुहुन्छ । एउटा त उहांको छोरा भीष्मले कृषि पढे र केही जान्ने भए, त्यसमाथि उहां आफै पनि केही कुरा बुझ्ने हुनु भयो । ‘हण्डर खाएपछि त सिक्नै पर्यो नी, अहिले विस्तारै बाख्राको संख्या बढाउंदैछु । बेच्नको लागि गाह्रो छैन । त्यसैले यसैबाट केही हुन्छ भन्ने लागेको छ’ उहांले मसंग भन्नुभयो ।
मेरो अनुरोधः सरकारी हाकिमसाबहरु कृषि विकासको लागि ठूला ठूला कुरा छोडिदिउं, पहिले कृषिकर्मीले दिनुंहु भोग्नु परेका स साना र झिना मसिना समस्या समाधान गरिदिउं, कृषि क्रान्तीको विगुल तिनैले पुग्छन् । तपाई हामीले टाउको दुखाउनै पर्दैन । त्यसपछि तपाई हामीले जतिवटा सेमिनार गर्नु परे पनि गरौंला, अहिलेलाई अनुदानको खेल, तथा सेमिनार र प्रोजेक्टरको व्यापार वन्द गरौं, त्यति भए पुग्छ ।
वि.सं.२०७६ मंसिर २९ आइतवार १३:२७ मा प्रकाशित






























