back
CTIZAN AD

शिक्षा सुधार्न २३ बुँदे घोषणापत्र जारी गर्दै

वि.सं.२०७६ पुस ७ सोमवार

678 

shares

७ पुस ,बागलुङ । बागलङ्ग् जिल्लाको जैमिनी नगरपालिकाले सार्वजनिक शिक्षाको गुणस्तर सुधारका काम थाल्ने भएको छ । आइतबार सार्वजनिक शिक्षाको गुणस्तर सुधार तथा शिक्षासम्बन्धी कानून निर्माण सुझाव सङ्कलन कार्यशालाबाट २३ बुँदे घोषणापत्र जारी गर्दै नगरपालिकाले सार्वजनिक शिक्षामा सुधारको उद्घोष गरेको हो ।

शिक्षामा लगानी कम हुने प्रतिफलको आशा धेरै हुने भएकाले शैक्षिक सुधारका लागि पहल थालिएको नगरप्रमुख इन्द्रराज पौडेलले बताए । नगरले बनाउन लागेको शिक्षा ऐनका लागि सुझाव सङ्कलन र सार्वजनिक शिक्षामा सुधारका लागि आवश्यक छलफल गर्न विज्ञसहितको कार्यशाला आयोजना गरिएको थियो ।

राष्ट्रिय शिक्षा नीतिअनुसार बालकक्षादेखि कक्षा ८ सम्मका बालबालिकालाई निःशुल्क तथा अनिवार्य शिक्षा लागू गर्न नगरले सरोकारवालासँगको सहकार्यमा काम थाल्ने भएको छ । शिक्षण सिकाइलाई नियमित र प्रभावकारी बनाउनका लागि विद्यार्थी तथा शिक्षकको नियमित हाजिरी परीक्षण गर्ने घोषणापत्रमा उल्लेख छ ।

उत्कृष्ट शिक्षक विद्यार्थी पुरस्कृत गर्ने, महिनामा एकपटक हरेक विद्यालयले अभिभावक भेला गरी स्वमूल्याङ्कन गराउने, मल्टिमिडियाको माध्यमबाट अध्ययन अवलोकन, विद्यालय हाताभित्र मादकपदार्थको तथा सुर्तीजन्य पदार्थको सेवनमा रोक, बालमैत्री, अपाङ्ग मैत्री तथा लैङ्गिकमैत्री हिंसा नभएको विद्यालय क्षेत्र बनाउने घोषणापत्रमा उल्लेख छ ।

सिकाइमा पछाडि परेका बालबालिकाका लागि अतिरिक्त कक्षा सञ्चालन, विद्यालय सुधार योजना निर्माण, कार्यान्वयन र समयमा समीक्षा, कक्षा ३ सम्मका बालबालिकाका लागि डेक्स-बेन्चको साटोमा व्यवस्थित बसाइसहितको कक्षाकोठा, पाठ्य योजनाको तयारी, विद्यालय हाताभित्र करेसाबारी, वृक्षारोपण, पठनपाठनको माध्यम नेपाली, अङ्ग्रेजीका अलावा स्थानीय भाषा हुन सक्ने, विद्यार्थी सङ्ख्या कम भएका विद्यालयको व्यवस्थापन तथा दरबन्दीको मिलान र शैक्षिक वर्षको अन्तसम्ममा नगरको शिक्षा ऐन तयार गर्ने लगायतका महत्वपूर्ण बुँदा घोषणापत्रमा समावेश गरिएको छ ।

कार्यशालामा शिक्षाविद् प्राडा मनप्रसाद वाग्ले, पूर्वसचिव प्राडा महाश्रम शर्मा, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका अध्यक्ष डिल्लीराम सुवेदी लागयतको उपस्थिति थियो । जैमिनी नगरपालिकाका सबै विद्यालयमा प्रधानाध्यापक, नगर कार्यपालिकाका सदस्यहरु, शिक्षक तथा कर्मचारी सहभागी कार्याशालाले उक्त घोषणापत्र तयार परेको हो ।

कार्यशालामा वाग्ले, शर्मा, सुवेदी र तनहुँ जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रमाकान्त शर्माले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उनीहरुले नगरमा सार्वजनिक शिक्षामा गुणस्तर सुधारका लागि अनुभवसहितका सुझाव राखेका थिए । कार्यशालामा उठेका विषयमा छलफल गर्दै प्राडा वाग्लेले माटो सुहाउँदो शिक्षा नीति र व्यावहारिक शिक्षामा ध्यान दिन आग्रह गरे ।

इच्छा शक्ति भए गुणस्तरीय र व्यावहारिक शिक्षाका लागि स्रोतको अभाव नरहेको उनको भनाइ थियो । देशको सङ्घीय संरचना निर्माणसँगै बनेको कानूनले नजिकको सरकारलाई शिक्षाको तल्लो तहको जिम्मेवारी दिएको भन्दै स्थानीय तहले इमान्दारितापूर्वक जिम्मेवारीको बहन र दायित्व बोध गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव शर्माले शिक्षामा सुधारका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए । शिक्षक विद्यार्थीको मात्रै प्रयासले व्यावहारिक शिक्षा आर्जनमा कठिन हुने भन्दै उनले अभिभावक, विद्यालय व्यवस्थापन समिति र स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने बताए ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका अध्यक्ष डिल्लीराम सुवेदीले शिक्षालाई अरू विकासका पूर्वाधार जस्तै राजनीतिक रुपमा मूल एजेन्डा बनाउनुपर्नेमा जोड दिए । कार्यशालामा सरोकारवालाले जैमिनी नगरपालिकाले निर्माण गर्न लागेको शिक्षा ऐनको मस्यौदामाथि आफ्ना सुझाव राखेका थिए ।

नगरले कानून बनाउँदा कार्यान्वयन हुने खालको बनाउनुपर्ने र कानूनी सहजताले मात्रै शैक्षिक विकासमा टेवा पुग्ने उनीहरुको धारणा थियो । नगरपालिकाले शिक्षाका लागि राष्ट्रिय अभियान नेपालसँगको सहकार्य र ओपन सोसाइटी फाउन्डेशनको सहयोगमा कार्यशालाको आयोजना गरेको थियो ।

वि.सं.२०७६ पुस ७ सोमवार १४:२० मा प्रकाशित

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

दमौली (तनहुँ) । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा दमौलीमा...

साइत हेराएर मात्र यसरी गरिन्छ भिर मौरीको शिकार !

साइत हेराएर मात्र यसरी गरिन्छ भिर मौरीको शिकार !

नवीन लामिछाने, मनाङ । विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको...

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगरपालिका स्थापना दिवस यस वर्ष भव्य कार्यक्रमसँगै सम्पन्न भएको...

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

काठमाडौँ । नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’मा यस वर्षको दोस्रो...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...