back
CTIZAN AD

दलालहरुका लागि सामाजिक सञ्जाल सजिलो माध्यम

वि.सं.२०७६ पुस १० बिहीवार

864 

shares

१० पुस, भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशबाट भारत हुँदै तेस्रो मुलुकसम्म हुने महिला तथा बालबालिका बेचबिखनमा मोबाइल फोन र पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढिरहेको देखिएको छ ।

बुधबार कञ्चनपुरको भीमदत्तनगरमा सन् २०१९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै माइती नेपाल कञ्चनपुरले उद्धार गरिएका महिला तथा बालबालिकालाई भारत र तेस्रो मुलुक लैजाने कुराकानीका लागि सामाजिक सञ्जालको दुरुपयोग ८० प्रतिशतले बढेको बताए ।

“बेचबिखनको खोजीमा परेका र पर्नसक्ने सम्भावना रहेका २३९ महिला तथा बालबालिकाको यो वर्ष उद्धार गरी पारिवारिक मिलनसमेत गरायौँ”, माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले भने “दलालहरुका लागि सामाजिक सञ्जाल सजिलो माध्यमका रूपमा देखिएकाले यसबारे गम्भीर हुन जरुरी छ ।”

भारतीय युवकको टेलिफोनको झुटो मायाजालमा परेर नेपाली युवती भारतीय वेश्यालयमा पुगेको यथार्थ उनले सुनाए । कञ्चनपुरको सीमानाकाबाट माइती नेपालले मुलुकका ४५ जिल्लाका महिला तथा बालबालिकाको उद्धार गरेको जनाएको छ ।

“पहिलेको भन्दा अहिले सुदूरपश्चिममै बेचबेखिनको उच्च जोखिम बढेको छ”, संयोजक भट्टले भने, “स्थानीय तहका जनप्रतिनिधिले पनि उमेर नपुगेकालाई रोजगारीका लागि देश बाहिर जान सिफारिस गर्दा नियन्त्रणमा चुनौती थपियो ।” माइती नेपालले उद्धार गरेकामध्ये १५५ महिला तथा बालबालिका सुदूरपश्चिम प्रदेशका रहेको तथ्याङ्कले देखाएको छ । सुदूरपश्चिममा पनि कञ्चनपुर र कैलाली बेचबिखनको बढी खोजिममा रहेका छन् ।

“भारतीय बाटो भएर कुवेत, साउदी, दुबईलगायत खाडी मुलुक जान यो नाकाको प्रयोग बढी हुँदैछ”, उनले भने, “काठमाडौँमा बस चढाउने र दिल्लीमा ‘रिसिभ’ गर्ने क्रम बढेकाले सरकार पनि गम्भीर हुन जरुरी छ ।” कञ्चनपुर खुला सीमानाका भएकाले पनि मानव बेचबिखनका दृष्टिले चुनौती रहेको बताउँदै उनले गड्डाचौकी र दोधारा चाँदनीको झोलुङ्गे पुलमा माइती नेपालले परामर्श केन्द्र राखेको जानकारी दिए । “वडाध्यक्ष नै काम गर्न जाँदैछ किन रोक्नुहुन्छ भनेर फोन गर्छन्”, उनले भने, “वडास्तरमा पनि जनचेतनामूलक कार्यक्रम गर्नु अतिआवश्यक छ ।”

सन् २०१९ मा माइती नेपालले भारतको जिवीरोडदेखि हल्द्धवानी, बरेली, पिथौरागढलगायतका शहरहरुबाट भारतीय सङ्घसंस्था र प्रहरीको सहयोगमा नौ महिलाको उद्धार गरेको माइती नेपालले जनाएको छ । “बेचबिखन बढिरहेको भए पनि हामीले त्यसमा संलग्न एक जनाविरुद्ध मात्रै मुद्दा चलाउन सफल भयौँ”, भट्टले भने, “घरेलु हिंसा, गरिबी र महिलालाई सीमा कटाउन परिवारकै सदस्यको संलग्नता पनि मानव बेचबिखनका चुनौती हुन् ।”

त्यसैगरी माइती नेपालले बितेको एक वर्षमा भारत जाने तीन हजार ६८० सवारीसाधन गड्डाचौकीमा जाँच गर्नुका साथै सीमानाकामा झण्डै १४ हजार महिला तथा बालबालिकालाई परामर्श प्रदान गरेको छ । उद्धार गरिएका महिलालाई विभिन्न सीपमूलक तालीम दिएर आयमूलक काममा लगाउन पनि सहयोग गर्दै आएको माइती नेपालले दुई वर्षमा १८ महिलालाई काठमाडौँ लगेर सीपमूलक तालीमसमेत दिएको संयोजक भट्टले बताए ।

“मानव बेचबिखनमा दलालहरु सक्रिय भइरहँदा हामीसित उद्धारमा खटिने एउटा सरकारी संयन्त्र गठन हुनसकेको छैन”, उनले भने, “यहाँ जोखिम रहेको बेचबिखन नियन्त्रणमा स्थानीय र प्रदेश सरकार पनि गम्भीर हुनु जरुरी छ ।” रासस

वि.सं.२०७६ पुस १० बिहीवार ११:३० मा प्रकाशित

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...