शुक्रबार जनवरी ३ तारिक, लगातार मसिनो पानी परिरहेको थियो । पश्चिमाहरू शुक्रबार रमाइलो मुडमा हुन्छन् । सुपरमार्केटमा छोटो किनमेल पछि सार्वजनिक बस चढ्ने हतारोमा लम्किंदै गर्दा अनायास दायाँ खुट्टा चिप्लियो । बाटोको सहज अवस्थाको बाबजुद चिप्लिनु स्वाभाविक थिएन । यसो हेर्दा पर्स (थैली) रहेछ ।
उठाएर हेरेको धेरै महत्वपुर्ण डकुमेण्ट रहेछन् । वरिपरि हेरेको कसैलाई दिने अवस्था थिएन । बस चढे पछि पुन : पर्स हेर्दा ३ वटा बैंकको भिसा कार्ड, मास्टर कार्ड, (पिनकोड सहित) परिचय पत्र, ट्राभेल कार्ड, प्लेनको प्रियोरिटि कार्ड, चालक परिचय पत्र सहित रहेछन् ।
फोटो हेर्दा ती महिला ६५ बर्ष भन्दा माथिकी हुनु पर्छ ! घरमा आइ सकेपछि उनको सम्पर्क नं मा कल गर्दा उठेन । सायद उनि त्यसैको चिन्तामा कतै दौडधुपमा हुनुपर्छ भन्ने लाग्यो । १० मिनेटपछि पुन : छोराले आफ्नो मोबाइलबाट फोन हान्यो । यसपटक उठ्यो । ‘मेरो बाबाले तिम्रो सामान फेला पार्नु भएछ, लिन आऊ’ भन्यो । खुशीले बूढी मान्छे फोनमै रोइछन् । हामी बस्ने ठेगाना बताई दिए पछि ‘म अहिले निकै टाढा बस्छु, रातीमा गाडी चलाउन गाह्रो हुन्छ, भोलि १० बजे आउँछु’ भनिछन् ।
आज बिहान ठिक १० बजे टुप्लुक्क घर आइपुगिन् । ‘भेटिन्छ भन्ने कमै आशा थियो । जमाना पहिला जस्तो छैन’, भन्दै ‘तिमीहरु कुन देशको हो ?’ भनेर सोधिन् । छोरासँग १५ मिनेट गफ गरिन् ।
‘नेपाल’ भनेको सुन्ने बित्तिकै धेरै सुन्दर देश हो, मेरो साथीले भनेकी । मिल्यो भन्यो एकपटक घुम्ने बिचार गरेकी छु’ भनेर अद्भुत खुशी प्रकट गरिन् र सानो उपहार दिएर बिदा भइन् ।
परोपकार पुन्याय, पापाय परपिडनम । सबैको सप्ताहान्त खुशीमा बितोस्
वि.सं.२०७६ पुस २० आइतवार ११:३० मा प्रकाशित






























