२९ पुस, काठमाडौँ । माघे सङ्क्रान्ति वा मकर सङ्क्रान्ति तथा माघी नामले चिनिने यो पर्व माघ महिनाको पहिलो दिन माघे सङ्क्रान्ति मनाइन्छ । यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन्, मगर समुदायले मुख्य रुपमा धुमधामको साथ मनाउने यो पर्वलाई माघ्या सेल्र्हेस पनि भनिन्छ ।
नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई,मगर , लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघे सङ्क्रान्तिलाई आ–आफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ ।
ज्योतिषीय दृष्टिकोणमा सूर्यले धनु राशिबाट मकर राशिमा सङ्क्रमण गरेको दिन भएकाले यस दिनको नाम मकर सङ्क्रान्ति रहन गएको हो । सूर्यको उदयबिन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरू हुन्छ भन्ने मान्यता छ ।
उत्तरायणको अवधिमा तुलनात्मक रूपमा दिन लामा हुने र तापक्रममा बृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने गर्दछ । त्यसैले पनि यस दिनको छुट्टै खगोलीय महत्त्व पनि छ ।
माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । दिन यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास पनि छ ।
माघे शक्रान्तिका दिन गंगामा गएर गरिने स्नानलाई महास्नान भनिन्छ । भोली रिडीको रुरु, पाल्पाको राम्दी, नारायणी नदि लगायतका देशभरीका सबै पवित्रस्थलमा पुगेर स्नान गर्ने चलन छ ।
माघे शक्रान्तिको दिन गंगामा स्नान गरिसकेपछि पुरोहित तथा घरका कन्यालाई टिका लगाइदिने चलन पनि छ । साथै स्नानपछि शुद्ध घिउ, चाकु, तरुल, सखरखण्ड, खिचडी खानाले शरीमा गर्मी बढ्ने र तागत दिने बताइन्छ । साथै मास हालेर तताएको तेल शरीरमा लगाउँदा चिसोबाट मुक्त र छाला सम्बन्धी रोग हट्ने विस्वास समेत गरिन्छ ।
वि.सं.२०७६ पुस २९ मंगलवार १८:५३ मा प्रकाशित






























