बेहोसीमै तिमीले जन्माएको
समयको एक टुक्रा आकाश हुँ म
हिँडेर
नटिपिएका भोगाइहरु
नपचाइएका दृश्यहरु
नछामिएका चाहनाहरु
हेर त
कसरी फुल्दोरैछ रहस्यको यात्रा !
रगतको आहालबाट टिपेर
पुछेकी थिइनौ तिमीले मेरो शरीर
बरु गरेकी थियौ
सहस्र रहस्यहरुको अनावरण
आमा !
त्यो ‘म’ नै थिएँ र !
बाल्यकालकै हो मेरो मुटु
अहिले पनि
कतै परिवर्तन गरेको छैन मैले
र त
पहिलोपटक आँखा खोलेको बेलाको जस्तै
सुन्दर लाग्छ अहिलेको हरेक क्षण
अनि
उत्तिकै सुन्दर यो संसार पनि
तर एउट प्रश्नले भने छोइरह्न्छ बार्म्बार
तिमीले मलाई
यो जन्ममा
अद्भुत दृष्टि दिएकी हौ के अनन्त दृश्य?
वि.सं.२०७३ मंसिर २३ बिहीवार ०६:१७ मा प्रकाशित