१० माघ, काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको महानिर्देशकमा गोपालप्रसाद तिवारी नियुक्त भएका छन् । वाणिज्य बैंकहरु, विकास बैंकहरु र वित्तीय संस्थाहरुको छाता संस्था परिसंघको कार्यसमिति बैठकले तिवारीलाई ४ वर्षका लागि महानिर्देशकमा नियुक्त गरेको हो ।
को हुन् तिवारी ?
काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–१० श्रीचौरका तिवारीसँग नेपालस्थित अन्तर्राष्ट्रिय वित्त निगम तथा विश्व बैंक जस्ता संस्थाहरुमा काम गरेको अनुभव छ । केही समय अघिसम्म नेपाल सरकार, दातृ निकाय तथा निजी क्षेत्रद्वारा प्रवद्र्धित एवम् सार्वजनिक–निजी संवाद प्रतिष्ठानको रुपमा रहेको नेपाल व्यवसाय मञ्चमा उनी वरिष्ठ परामर्शदाता थिए । उनी पछिल्लोपटक नेपाल उद्योग वाणिज्य महासंघको निमित्त महानिर्देशकको जिम्मेवारीमा थिए ।
अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुसँग आवद्ध तिवारी निजी क्षेत्र, आर्थिक तथा वित्तीय क्षेत्रका व्यावसायिक विषयवस्तुका साथै समग्र अर्थतन्त्रका जानकार मानिन्छन् । अर्थशास्त्रमा स्नातकोत्तर तिवारीले नेपालमा लगानीको वातावरण सुधारसम्बन्धी विषयमा विद्यावारिधि गरेका छन् ।
सन् २०१६ मा नर्वेबाट सोसिएल अन्ट्रप्रिनरशिप एन्ड इन्नोभेसन म्यानेजमेन्टमा ग्रयाजुएट र सन् २०१४ देखि बिजनेस स्कुल अफ नेदरल्यान्डस्मा म्यानेजमेन्ट स्कलरका साथै नर्वेस्थित वैज्ञानिक अनुसन्धान संस्था मा इन्डिपेन्डेन्ट साइन्टिफिक रिसर्चरका रुपमा पनि उनी आवद्ध छन् ।
महानिर्देशक तिवारीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामार्पmत वित्तीय तथा विभिन्न क्षेत्रमा खोज अनुसन्धान पनि गरेका छन् भने उनका अनुसन्धानात्मक लेखहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित भएका छन् ।
तिवारी नेपालको एक मात्र अर्थशास्त्रीहरुको संस्था नेपाल आर्थिक संघको भर्खरै सम्पन्न २९औं वार्षिक साधारणसभाबाट महासचिवमा निर्विरोध निर्वाचित भएका थिए । नेपालको प्रतिनिधित्व गरी आर्थिक तथा व्यावसायिक विषयमा विभिन्न अन्तर्राष्ट्रिय सेमिनार र वैठकहरुमा सहभागिता जनाइसकेका नवनियुक्त महानिर्देशक तिवारीको अनुभव नेपालको आर्थिक, व्यावसायिक तथा वित्तीय क्षेत्रका लागि प्रभावकारी बन्ने विश्वास लिइएको बैंक तथा वित्तीय संस्था परिसंघको छ ।
वि.सं.२०७६ माघ १० शुक्रवार १७:२३ मा प्रकाशित






























