१३ माघ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा संस्थापन इतरपक्षका नेताहरु पनि सहभागी हुने भएका छन् । शीर्ष नेताहरुबीच भएका सहमतिलाई निर्णायक रुप दिन आज केन्द्रीय कार्य समिति बैठक बोलाइएको हो।
शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शीर्ष नेताहरुबीच पार्टीका विभागहरुमा भागवण्डाका आधारमा नेतृत्व प्रदान गर्ने, भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा तदर्थ समिति गठन गर्ने, नेपाल तरुण दलको म्याद ६ महिना थप गर्ने तथा पदाधिकारी एवम् सदस्यहरु मनोनित गर्नेलगायतका विषयमा सहमति जुटेको थियो ।
ती सहमतिलाई अन्तिम रुप दिन आज केन्द्रीय कार्य समिति बैठक बोलाइएको केन्द्रीय सदस्य हृदयराम थानीले जानकारी दिए । यसअघि सभापति देउवाले बहुमतका आधारमा केन्द्रीय समितिमा निर्णय गर्दै आएको, पार्टीको विधान मिचेको लगायतका आरोप लगाउँदै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री, डा शसांक कोइराला, पूर्व महामन्त्रीद्वय कृष्ण सिटौला, प्रकाशमान सिंहलगायतका नेताहरुले केन्द्रीय समिति बैठक बहिस्कार गर्दै आएका थिए।
वि.सं.२०७६ माघ १३ सोमवार ११:३५ मा प्रकाशित






























