७ फागुन, काठमाडौँ । छुराले छातीमा हानेर आत्महत्या गर्न लागेका एक युवकको प्रहरीले फेसबुकको सहयोगमा उद्धार गरेको छ ।
काठमाडौंको कालीमाटीबाट मंगलबार प्रहरीले २१ वर्षीय युवकको उद्धार गरेको हो । प्रेम सम्बन्धलाई लिएर उनले फेसबुकमा ‘लाइभ’ गरेर आत्महत्याको प्रयास गरेका थिए । त्यसबारे फेसबुकले नेपाल प्रहरीलाई जानकारी गराएको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ( सिआइबी) ले फेसबुकले दिएको सूचनाको आधारमा ‘जियोलोकेसन’ हेरेर कालीमाटीस्थित उनको घरमा पुगेको थियो । फेसबुकको फोटो देखाएर सोध्दै उनको कोठामा पुग्दा युवक छातीमा चक्कुले हानिरहेका थिए । ‘आई एम गना किल माइसेल्फ, आई एम फ्रस्ट्रेटेड विथ लाइफ’ लेखेर उनले फेसबुकमा लाइभ गरेका थिए । प्रहरीले करिब सवा ३ बजे सूचना पाएको थियो ।
सिआइबीका डिएसपी पशुपति रायले कालीमाटी वृत्तलाई यससम्बन्धी सूचना दिएपछि डिएसपी रुगम कुँवर युवकको घरमा पुगेका थिए । सुरुमा आत्महत्याको लाइभ गरेर रोकी फेरि लाइभ गरेर आत्महत्या गर्न खोज्दा प्रहरी पुगेको थियो । नयाँ पत्रिका दैनिकबाट
वि.सं.२०७६ फागुन ७ बुधवार ०८:३९ मा प्रकाशित






























