back

महिलाकी प्रेरणा ‘एकता दिदी’ले गरिन् कारागारमा पुस्तकालय स्थापना

वि.सं.२०७६ फागुन २४ शनिवार

597 

shares
GLOBAL IME AD
NTC AD

१४ वर्ष देखिको अमेरिकी बसाई छाडेर नेपाल फर्किएकी विष्णु गुरुङ (एकता) महिलाकी प्रेरणा हुन् । अमेरिकामा पहिलो महिला नेपाली ट्याक्सी ड्राइभर भएर परिचय बनाएकी उनले ३ वर्ष अघि नेपाल फर्किएर हाल पोखरा लेकसाइडमा ‘होटल दिदी’ सञ्चालन गरिरहेकी छिन् ।

कता दिदीका नामले पहिचान बनाएकी उनमा महिलाहरु पुरुष भन्दा कुनै पनि कुरामा कम हुँदैनन् भन्नेमा विश्वास छ । विदेशमा रहँदा पनि महिला दिदीबहिनीहरु संगठित हुनुपर्दछ, आफूमा शसक्तिकरण गर्नुपर्दछ भन्ने कुरामा जोड दिने गर्दथिन् । हामी दिदीबहिनी कम्मर हल्लाएर नाचेर, खादा र सर्टिफिकेट पाएर मात्र मक्ख हुनुहुँदैन महिलाले पनि आफूमा आत्मबल बढाउनु पर्दछ, जहाँ पनि आफ्ना कुरा निर्धक्क राख्न सक्नुपर्दछ भन्ने सोच राखेर उनकै पहलमा नेपाली महिला विश्व सञ्जाल क्यालिफोर्निया च्याप्टर गठन गरिएको उनी बताउँछिन् । यस्तो सोच भएकी उनले जब कास्की कारागारमा महिलामाथि विभेद भएको देखिन् आफ्नो मनलाई थाम्न सकिनन् र पुगिन् केही सहयोग लिएर । महिलाहरुको हौसला र प्रेरणा रहेकी एकताले कास्की कारागारको महिला विभागमा पुस्तकालय स्थापना गरेकी छिन् ।

८५७ जना कैदीहरुमा ६४ जना महिलाहरु रहेको कारागारमा उनले केही पुस्तक र दराज दिएर पुस्तकालय स्थापना गरेकी हुन् । उनले स्थापना गरेको पुस्तकालयमा महिलाका प्रेरणात्मक कथाहरु, बुद्धका किताबहरु लगायत अन्य पुस्तकहरु छन् । आगामी दिनमा पनि जेलमा रहेका दिदीबहिनीहरुलाई पत्रपत्रिका पु¥याउने र उत्पादनमुलक काम पु¥याउने कुरामा आफू लागि पर्ने उनी बताउँछिन् ।

पुस्तकालय स्थापना भएबाट दिदिबैनीहरुलाई ढिलै भएपनि शिक्षाको उज्यालो बाटो देखाउने प्रयास गर्न सकेकोमा आफै प्रति गर्व लागेको भन्दै खुशी व्यक्त गर्दछिन् ।

कारागारमा भ्रमण गर्न पटक पटक प्रयास गर्दा पनि आफूले अनुमति नपाएको तर तेस्रो पटकको प्रयासमा कारागार इन्चार्च गणेश गौतमको सहयोगमा आफूले जेलमा गएर महिला कैदी दिदीबहिनीसँग भेटन् पाएको बताउँछिन् । कारागारमा दिदीबहिनीलाई भेट्दा उनीहरुमाथिको विभेद देख्दा आँशु थाम्न नसकेको उनी बताउँँछिन् । ‘कारागारमा गएर भेट्न जाँदा पुरुष कैदीहरुलाई डिस्नेरी लगायतको किताबको माग भयो । तर नभेटि आफूले सहयोग नगर्ने भनेपछि तेस्रो पटकमा कारागार इन्चार्जसँग भेट हुन सकेको थियो । उनले नै महिला दिदीबहिनीको दुःख सुनाएर भेट्ने अवसर जुटाइदिए । जेलमा महिला दिदीबहिनीसँग दिन काट्ने कुनै वैकल्पिक व्यवस्था नदेख्दा मन रोयो, उनी भन्छिन् ‘यति ठूलो विभेद सोचेको पनि थिइन । भेटेर फर्किएपछि मलाई त रातभरी निन्द्रा नै परेन । महिला राष्ट्रपति भएको देश र महिला उपमेयर भएको पर्यटकीय शहर पोखराको कारोगारमा यति ठूलो लैङ्गिक विभेद कसरी भयो भन्ने खुल्दुली मनमा भयो ।’

पुरुषहरुको दुई विभागको पुस्तकालयमा करिब १७०० पुस्तकहरुले भरिँदा महिला विभागमा पुस्तकालय नदेख्दा ‘आजको जमानामा पनि माहिलामाथि यस्तो विभेद’ आफूलाई अचम्म लागेको उनी बताउँछिन् ।

पुरुष विभागमा हरेक खेलकुद, जिम, कम्प्युटर, प्रिन्टरको सुबिधा साथै टेलिभिजन छन् भने महिला विभागमा त्यस्तो कुनै पनि सुविधा छैन के महिलाले पढ्न सक्दैन वा पढ्न हुँदैन यसको जवाफ कसले दिने ? उनी सवाल गर्दछिन् ।

पत्याउनै गाह्रो तर कटु सत्य यस्तो देखेर आफूलाई निकै दुःख लागेको त्यहि कारण महिलाहरुलाई सशक्तिकरण गर्न सक्ने एकदम साधारण उपाय खोज्दै जाँदा कास्की कारागारको महिला विभागमा पुस्तकालयको स्थापना गर्न पुगेको उनको भनाई छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर कारागारका दिदीबहिनीहरुलाई शिक्षा पु¥याउन पाएकोमा उनले निकै खुशी लागेको बताइन् ।

‘के महिलाले खेल खेल्न सक्दैनन वा खेल्न हुँदैन । त्यस्तै कम्पुटर के पुरुषले मात्र चलाउने सामाग्री हो ?’ यस गम्भीर बिषयमा सम्बन्धित निकायले ध्यान पु¥याउनु पर्नेमा उनको जोड छ । उनी भन्छिन् ‘हामीले गर्ने सहयोग क्षणिक हो, सरकारले नै सबै मेरै नागरिक हुन् भन्ने सोचका साथ समान व्यवहार गर्नुपर्दछ ।’

उनले कारागार इन्चार्च गणेश गौतम प्रति आभार व्यक्त गरेकी छन् । ‘कारागार ईन्चार्ज गणेश गौतमलाई हृदयदेखि धेरै धन्यवाद दिन चाहान्छु । उहाँको सहयोगले गर्दा नै आज मैले जीवनमा एक अचम्मको नौलो अनुभव लिने सौभाग्य मिल्यो ।’

वि.सं.२०७६ फागुन २४ शनिवार १०:३४ मा प्रकाशित