म त हिजो आज
दिक्क–दिक्क भइसकें
पत्रकार उत्पादन गर्छु
तर जताततै पत्रुकार मात्र देख्छु
न सही न राम्रो समाचार
जताततै देख्छु आफ्ना समाचार
कोही कताबाट कोही कताबाट रे
सबै संचालित छन् अरे
यसैले म त हिजो आज
दिक्क भइसकें
जताततै पत्रुकार मात्र देख्छु ।
पत्रकारले जे लेखे पनि हुने
किनकी उ पत्रकार हो रे
उसको विरुद्ध नबोल तिमी
नत्र स्वतन्त्रताको हनन् हुनेभो रे
राष्ट्रको समस्या एकातिर
तर तिम्रा कलम अर्कैतिर
राष्ट्रिय स्वाधिनतालाई
धरौटी नराख आफ्नो कलमसँग
इतिहासले तिमीलाई सराप्नेछ
यसैल हिजो आज दिक्क दिक्क भइसकें
जताततै पत्रुकार मात्र देख्छु ।
विद्यार्थीहरुले माडम भन्दा
यो छाती गौरवले फुल्छ
तिम्रो मायाले मेरो मनै प्रफुल्ल हुन्छ
तिमीहरु वरिपरि रहँदा
सारा संसार बिर्सन्छु
तर आजकल
तिम्रा समाचारले म आफै तर्सन्छु
खोइ कहाँ गयो राष्ट्रियता
र समाजिक दायित्व ?
यो त सब सिद्धान्त भईगए
जे देख्छु त्यही बोल्ने गर्छु
तिम्रो हातमा सबै थोक छ
तर पनि यो मातृभूमि शोकै शोकमा छ
म त हिजो आज दिक्क दिक्क भइसकें
जताततै पत्रुकार मात्र देख्छु ।
वि.सं.२०७६ फागुन २४ शनिवार ११:०० मा प्रकाशित






























