
२७ फागुन, रामपुर । धन कमाउनकै लागि अरब र खाडी मुलुकमा युवाको लहर बढिरहेको बेला रामपुर नगरपालिका–४ सदावर्त बस्ने युवा विनोद श्रेष्ठले भने दूध बिक्री गरेर मनग्य कमाई गर्न थालेका छन् । व्यावसायिकरूपमा उन्नत जातका भैँसी तथा गाईबाट दूध बिक्री गरी खर्च कटाएर मासिक रु एक लाख बराबरको कमाई गर्छन् ।
उनले डेढ वर्षअघिदेखि व्यवसाय सञ्चालन गरेका हुन् । “दूध बिक्रीबाट एक महिनामा दुई लाखसम्म कमाई हुन्छ, खर्च कटाएर रु एक लाख नाफा लिएको छु, पशुपालनमा लगानीअनुसार मिहिनेत गरियो भने कमाई राम्रै हुने रहेछ”, श्रेष्ठले भने ।
दश वर्षसम्म हेल्थ एन्ड रिसर्च सेन्टरमा कामगरेका श्रेष्ठले पशुपालनबाटै रामपुर नगरपालिकामा समृद्धि भित्र्याउने लक्ष्यका साथ यो व्यवसायमा लागेका हुन् । “प्रोजेक्टमा रहेर विशेष गरी तराई क्षेत्रमा काम गर्ने अवसर मिल्यो, त्यस क्षेत्रमा घरघरमा पालिएका पशुबाट कृषकले राम्रो कमाई गरेको देखेपछि मलाई पनि आफ्नै गाउँमै बसेर पशुपालन गर्ने इच्छा जाग्यो र जागिर छाडेर अहिले पशुपालनमा लागेको छु”, उनले भने ।
उनको फार्ममा हाल नौ उन्नत जातका भैँसीमध्ये छवटा दुहुना भैँसीबाट ५० लिटर, आठवटा उन्नत जातका होलस्टिन र जर्सी गाईमध्ये पाँच गाईबाट ५० लिटर दूध उत्पादन गरी घरघरमा बिक्री गर्छन् । उनको फार्ममा उत्पादित दूध बजार लैजान नपाउँदै घरघरमा ग्राहकले लिने गरेका छन् । भैँसीको प्रतिलिटर रु ८५ र गाईको ७५ मा दूध बिक्री भइरहेको छ ।
फार्म व्यवस्थापनमा रु २५ लाख र गाईभैँसी खरिदमा रु २० लाख लगानी परेको छ । उनले व्यवसाय बढाउने सोच बनाएर ३० वटा पशु अट्ने क्षमताको फार्म निर्माण गरेका छन् । व्यवसायलाई बढाएर ५० वटा भैँसी र गाई पु¥याउने र त्यसबाट मासिक रु सात लाखसम्म कमाई गर्ने लक्ष्य छ । ग्राहकले गाईको दूधभन्दा बढी भैँसीको दूध मन पराउने हुँदा भैँसीको सङ्ख्या बढाउने उनी बताउँछन् ।
यहीँ व्यवसायबाट पाँचजनालाई रोजगारसमेत दिएका छन् । आफ्नै ३५ रोपनी जग्गामा विभिन्न प्रजातिका घाँस लगाएका छन् भने व्यवसाय बढाएर जग्गा भाडामा लिई ९० रोपनी क्षेत्रफलमा घाँस लगाउने तयारी भइरहेको छ । आफ्नै करिब दुई रोपनी जग्गामा व्यवसाय चलाएका श्रेष्ठको पशुपालन व्यवसाय अहिले रामपुरमा अवलोकनयोग्य बनेको छ ।रासस
वि.सं.२०७६ फागुन २७ मंगलवार ०९:०० मा प्रकाशित