२८ फागुन, काठमाडौं । गत बुधबार मिर्गौला प्रत्यारोपण भएपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली अस्पतालमा आराम गरिरहेका छन् । चिकित्सकका अनुसार उनको स्वास्थ्य सुधारोन्मुख छ । वालुवाटारमा आइसोलेशन तयार गरेमा ओलीलाई डिस्चार्ज गर्न सकिने चिकित्सक बताउँछन् । तर ओलीलाई पूर्ण रुपमा ठीक भएर नियमित काममा फर्कन ६ महिनादेखि एक वर्ष लाग्ने बताइएको छ ।
प्रधानमन्त्री ओली अस्पतालमा आराम गर्दै गर्दा राष्ट्रिय प्रभाव पार्ने ४ मुद्दा अलपत्र परेका छन् । यसैबीच विश्वका ११९ देशमा महामारीको रुप लिएको कोरोना भाईरसबारे पनि सरकारले ठोस कदम चाल्न सकेको छैन । कोरोनाबारे छलफल गर्न आज सर्वदलिय बैठक बोलाईएको भएपनि प्रधानमन्त्रीको उपस्थितीविनाको बैठकको औचित्यमाथि प्रश्न उठेको छ । प्रधानमन्त्री ओली अस्पतालमा आराम गर्दै गर्दा अलपत्र परेका ४ मुद्दाको यहाँ चर्चा गर्ने प्रयास गरिएको छ ।
१, नेकपा सचिवालयको निर्णय
नेकपाको सचिवालय समिति बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यका रूपमा सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो । यो निर्णय समयमै कार्यन्वयन भएको भए गत बुधबार नवनिर्वाचित १८ सदस्यले शपथ लिएकै बेला गौतमले पनि राष्ट्रियसभा सदस्यको शपथ खाइसकेका हुन्थे । तर नेकपा सचिवालयको यो निर्णय यतिवेला अलपत्र परेको छ ।
तेसो त नेकपाको यो निर्णयले पार्टीमा निकै विवाद सृजना गरेको थियो । ओलीले सरकार ढाल्ने मनासायले गौतमलाई राष्ट्रियसभामा लैजान खोजिएको भन्दै सचिवालयको निर्णय नमान्ने अभिव्यक्ति दिएका थिए । सो निर्णयको पक्ष र विपक्षमा नेकपा नै २ धुर्वमा बाढिरहेको बेला ओली मिर्गौला प्रत्यारोपणमा लागे । यतिबेला सचिवालयको यो निर्णयलाई ओलीले कार्यन्वयन गर्छन् या गर्दैनन् भन्ने चासोको विषय भएको छ ।
२, एमसीसी
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत नेपाल र अमेरिकी सरकारबीच भएको अनुदान सम्झौतालाई लिएर नेपालमा निकै विवाद भयो । यसबारे अध्ययन गर्न सत्तारूढ नेकपाले आफ्ना नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा एउटा कार्यदल नै गठन गर्यो। कार्यदलले सम्झौतालाई सुधार नगरी लागु गर्न नसकिने सुझाव दियो ।
झन्डै ६० अर्ब रुपैयाँ नेपालको खासगरी अन्तर्देशीय विद्युत् प्रसारण लाइन विकासका लागि अनुदान दिने एमसीसी सम्झौता पारित गर्ने या अस्वीकार गर्ने भन्ने निर्णय लिन निकै ठीलाइ भएको जानकारहरु बताउँछन् । यसअर्थ ओली अस्पतालमा आराम गर्दै गर्दा एमसीसी मुद्दा पनि अलपत्र परेको छ ।
३, उपसभामुख चयन प्रक्रिया
ओली मिर्गौला प्रत्यारोपणमा लाग्दा अलपत्र परेको अर्को मुद्दा हो उपसभामुख चयन प्रक्रिया । सभामुख चयन भएको लामो समय वितिसक्दा समेत सरकारले उपसभामुख निर्वाचनको मिति तोक्न सकेको छैन । तत्कालिन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएको लामो समयपछि गत माघ १२ मा अग्नि सापकोटा सभामुखमा निर्वाचित भएका थिए ।
उपसभामुख नेकपाले समर्थन गरेकै दलले पाउने भएको र नेकपाले निर्णय लिन नसक्दा साना दलहरुले दाबी प्रस्तुत गर्न सकिरहेका छैनन् । प्रधानमन्त्री ओली भने राजपालाई सरकारमा ल्याएर उपसभामुख उसैलाई दिने मनासयमा छन् । तर राजपाले सरकारमा जाने या नजाने भन्नेबारे निर्णय लिन सकेको छैन । यसअर्थ प्रधानमन्त्री उपसभामुखको विषयमा पर्ख रहेरको रणनीतिमा भएको बुझ्न सकिन्छ ।
४, कोरोनाबारे पूर्वतयारी
प्रधानमन्त्री अस्पताल भएकै बेला कोरोनाको प्रकोपले विश्वमै बिकराल रुप लिइरहेको छ । नेपालले पूर्वतयारी गर्न नसकेको भन्दै डब्लुएसओले नेपाललाई जोखिमको सूचिमा राखेको छ । कतारले नेपाललाई अनअराईभल भिषा नै बन्द गर्यो । विश्वका बिभिन्न राष्ट्रहरु कोरोनाको प्रकोपसँग जुद्न बिभिन्न खालका योजना बनाउन व्यस्थ रहेका बेला नेपालमा भने प्रधानमन्त्री नै अस्पतालमा छन् । मंगलबार मात्र स्वस्थ्यमन्त्री भानुभक्त ढकालले सरकारले कोरोना प्रभावितलाई आईसोलेशनमा राख्न नसक्ने बताएपछि यतिबेला सरकारको चर्को आलोचना भैरहेको छ ।
वि.सं.२०७६ फागुन २८ बुधवार १४:५८ मा प्रकाशित






























