३० फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिना पूर्णरुपले आराम गर्नुपर्ने भएकोले उनको विकल्प खोज्न नेकपालाई सुझाव दिएका छन् । एक अन्तर्वार्तामा थापाले भनेका छन् -‘अहिले सम्मननीय प्रधानमन्त्री अस्पतालमा हुनुहुन्छ । उहाँको स्वास्थ्य लाभको कामना समेत गर्छु । तर प्रधानमन्त्रीजी स्वास्थ्यलाभ गरेर फर्केपछि नेकपा नेतृत्वले यसका बारेमा सोच्दा राम्रो हुन्छ । किन यतिधेरै प्रधानमन्त्रीलाई सकस दिएर, जोखिम दिएर प्रधानमन्त्रीलाई निरन्तरता दिनुपर्ने ? हामीले त प्रधानमन्त्रीलाई संसदमा आएर प्रश्नको जवाफ दिएको हेर्न चाहन्छौ, मन्त्रिपरिषद् बैठक पनि बस्नुपर्छ । तर कम्तिमा पनि ६ महिना आरामको आवश्यकता छ ।’
अन्तर्वार्तामा थापाले प्रश्न गरेका छन्-‘प्रधानमन्त्री ओलीजीलाई किन निरन्तरता दिनुपर्ने ? के कारण हो ? किन भन्ने विषयमा नेकपाले छलफल गर्यो भने आगामी ३ वर्षमा केही होला कि भन्ने लाग्छ । हैन भने आगामी ३ वर्ष पो झन् बढी समय खेर जाने अबस्था बन्नसक्छ ।’
राष्ट्रियसभामा कसलाई लैजाने भन्ने विषयमा संविधान संशोधनसँग जोडिएकोमा थापाले आन्तरिक समीकरण मिलाउन संविधान संशोधन हुन नसक्ने बताए । नेकपाभित्रको गुटहरुको झगडाको सिकार नेपाल सरकारले गर्ने निर्णयमा पर्न नहुने उनको भनाइ थियो ।
वि.सं.२०७६ फागुन ३० शुक्रवार ११:३४ मा प्रकाशित






























