३ चैत, पोर्चुगल । विश्वमै महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण पोर्चुगलमा पनि ७४ नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ ।
पोर्चुगलको लिस्बोनदेखि झण्डै २०० किमी टाढा रहेको फारो डिष्ट्रिकमा कृषि क्षेत्रमा कार्यरत एक नेपाली कामदारमा आइतबार कोरोना भाइरस पोजेटिभ देखिएपछि उनीसँग सम्पर्कमा रहेका अन्य ७४ कामदारलाई पनि फारोमै क्वारेन्टाइनमा राखिएको पोर्चुगलको स्थानीय टेलिभिजनले जनाएको छ ।
कोरोना भाइरसको आशंकामा साथीसँगै अस्पताल पुगेका उनलाई अस्पतालले कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको थियो ।
त्यसपछि उनीसँग सम्पर्कमा रहेकाहरुको खोजी गरेर क्वारेन्टाइनमा राखिएको बताइएको छ । जसमध्ये पाँचजनामा संक्रमण भएको आशंका गरिएको छ ।

एनआरएनए पोर्चुगलका पूर्वअध्यक्ष भन्छन् आत्तिइ हाल्नु पर्दैन
यस विषयमा कुरा गर्दा एनआरएनए पोर्चुगलका पूर्वअध्यक्ष कुवेर कार्कीले समस्या पोर्चुगलमा मात्रै नभएर अन्य देशमा पनि देखिएको र अन्य देशजस्तो महामारी पोर्चुगलमा नफैलिइसकेकोले नआत्तिन सुझाएका छन् ।
उनले पोर्चुगलका नेपालीले संक्रमणबाट बच्न सावधानी अपनाउनु पर्ने बताएका छन् । तर उनले पोर्चुगलमा कार्यरत तथा व्यवसाय गरेर बसेका नेपालीहरु कोरोनाको ठूलो मारमा परेको बताएका छन् । ‘झण्डै ३५ हजार नेपाली छौं पोर्चुगलमा । त्यसमा झण्डै १५ सय नेपालीले विभिन्न व्यवसाय संचालन गरेर बसेका छन्’ कार्कीले संसारन्युजको कुराकानीमा भने, ‘यहाँ नेपालीका मात्र नभएर अन्य देशका मानिसहरुको पनि व्यवसाय बन्द भइसकेका छन् । केही सुपरमार्केटहरु चलिरहेका छन् ती पनि समान सकिएपछि बन्द हुनेछन् ।’
कतारमा दुईजनामा कोरोना देखिएपछि दुई हजार नेपाली क्वारेन्टाइनमा
कार्कीका अनुसार बोर्डर सिल्ड गरिएका कारण युके लगायतका देशबाट समान आउन पनि बन्द भएको छ । रेष्टुरेण्ट लगायतका विभिन्न क्षेत्रमा कार्यरत नेपालीको रोजगारी गुमिसकेको छ । नेपालीहरु सेल्फ क्वारेन्टाइनमा बसेजस्तो भइसकेको छ ।
पोर्चुगल सरकारले यी सबै सम्बोधन गर्नका लागि कस्ता नीति घोषणा गर्छ भन्ने कुरा सबैले पर्खिएर बसेको कार्की बताउँछन् । ‘पोर्चुगल पर्यटकीय देश भएकाले अधिकांश होटल रेष्टुेण्टहरु बन्द भएका कारण नेपालीहरुको रोजगारी पनि खोसिएको छ । धेरै ‘जवलेस’ हुनुभएको छ । स्कुल, कलेज लगायत सबै बन्द भइसकेका छन् । सबै नेपाली समुदाय अप्ठेरोमा हुनुुहुन्छ यतिबेला ।’
कार्कीले यतिबेला सबै नेपालीले आफै सावधानी भएर बस्नुको विकल्प नभएको बताउँदै आफूलाई चाहिने आवस्यक सामान जोहो गरेर राख्न पनि अनुरोध गरेका छन् ।
पोर्चुगलमा सोमबारसम्म २४५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जसमा ३ जना सन्चो भएर घर फर्किसकेका छन् भने दुई हजार २७१ जना कोरोनाको आशंकामा निगरानीमा राखिएका छन् ।
फाइल फोटो-ऐजेन्सी
कतारमा दुईजनामा कोरोना देखिएपछि दुई हजार नेपाली क्वारेन्टाइनमा
वि.सं.२०७६ चैत ३ सोमवार १७:५२ मा प्रकाशित






























