
निश्चय पनि घरको आर्थिक अवस्था, कमजोरी र रोगी अवस्थामा घर पस्दा हुने जोखिम र त्यसले पार्ने प्रभावका बारेमा स्वय्मको मनोविज्ञान र आत्मबल प्रधान कुरो हो तर मेरै बुबा आमाको काखमा पल्टिन्छु, मेरै जहानबच्चासँग लुट्पुटिन्छु वा मेरै माटोको हावा लिन्छु भनेर फर्कने परिवारलाई तगारो हालेको ऐलान गर्नु कति जायज हो ?
यो संवेदनशिलतामा नागरिक दायित्व पनि निकै छन् । आफु रहेकै ठाउमा बस्ने,सुरक्षित हुन प्रयास गर्ने र सकेसम्म सरकारलाइ कम बोझ गराउने काम सबै नेपालीको हो ।
कतिपयको दम्भकारी बोली, आशंककारी सम्प्रेषण र तदर्थवादी व्यवहार देखिँदैमा निराश चाहि नबनि हालौँ ।
म शुरुमै स्पष्टिकरण दिन चाहन्छु की मेरो घरको श्रीमती, छोराछोरी तथा दाजुभाइ दीदीबहिनी, परिवार र निकटका नाता विदेशबाट आउन नपाउनेभए भन्ने मानसिक तनाव भएर मैले यो मुद्धा उठाउन खोजेको होइन । लामो समयदेखी विदेश बस्ने नेपालीहरुमा आधारित पत्रकारिता गर्दै आएको कारण हाम्रा पाठक र विदेश बस्ने नेपालीहरुको जिज्ञासा पुरा गर्नु कर्तव्य ठानेर अनि त्यसमाथि विभिन्न देशमा रहेका केही मित्रहरुले अस्ति साँझदेखि सोधिरहनु पनि भएकाले बिषय उठेको हो । धेरैको जिज्ञासा थियो फर्कन चाहाने नेपालीका लागी सरकारले के नीति अख्तियार गर्ला ?
हिजो बिहिबार मार्च १९ मा एउटा सकरात्मक समाचार सम्प्रेषण भएको थियो कि नेपालीहरु ‘निर्बाध आउन पाउँछन्’ । यसबाट अलिकति अभिभावकत्व झल्किएको थियो । तर शुक्रवार बिहानै केही प्रमुख समाचार माध्यममा ‘नेपालीलाई पनि स्वदेश फर्कन प्रतिबन्ध’ भन्ने समाचार आयो । म झल्याँस्सै भएँ । हिजो आफैले सकरात्मक मानेको सरकारी निर्णय आज नै कसरी नकरात्मक बनेछ । खुल्दुली बढ्यो । मैले तत्कालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन ४११३०४५ मा फोन गरेर सोधे । डियुटीमा रहेका कवि न्यौपालेले भन्नुभयो ‘आज राती १२ बजेदेखि थाइ र सिंगापुर एयरलायन्स बाहेक कुनै पनि अरु जहाज नउतार्ने कुरा आएको छ, नेपालीलाई रोक्नु भन्ने पत्र त स्पष्ट आएको छैन तर जहाज नै नआएपछि कसरी आउनेहोला र नेपालीहरु पनि ?’ उहाँको यो उत्तर गलत थिएन तर प्रश्नको जवाफ नआएकोले मैले विभागका महानिर्देशक ईश्वर पौडेलसँग सम्पर्क गर्न खोजेँ । सम्पर्क नभएपछि विभागका प्रवक्ता तथा निर्देशक रामचन्द्र तिवारीसँग सम्पर्क भयो । उहाँले भन्नुभयो ‘हाम्रो विभागको आधिकारीक विज्ञप्तिमा लेखिएको छ । त्यहाँ को स्वदेशी र को विदेशी नभनिएकोले प्रष्ट नभएको हो, ‘All the Passengers’ भनिएकाले सो आशंका बढेको हो । राज्यले आफ्नो नागरिकको अपनत्व लिन सक्नु पर्दछ भन्ने हामी सबैको चाहना हो ।’ उहाँको यो प्रतिक्रियाले पनि मेरो प्रश्नको पुरा उत्तर पाएन ।
राज्यका केही संवेदनशिल बाध्यताहरु हुन्छन्, त्यसका आधारमा All Passengers लेखिएको होला भन्ने लाग्यो । मैले केही दिन देखि पढेका समाचारमा संसारका धेरै देशले आफ्ना नागरिकको अपनत्व बेग्लै रुपमा लिएको पाएँ । ‘स्थल र हवाइमार्गबाट आउने प्रभावित मुलुकका विदेशी नागरिकलाई रोक्ने’ मात्र होइन आफना नागरीकलाइ छिटो फर्कन वा सुरक्षित रहन भन्ने आशयको सूचना धेरै देशले प्रवाह गरेको पनि पढेकै थिएँ ।
अरु देशको प्रयास र अभ्यास हामीले कति लिने वा कति नलिने परिस्थतिमा पनि भर पर्दछ । भाइरस रोक्ने पहल र जिम्मेवारी विश्व मानव सुमदायको एक मात्र कार्यभार हो यतिबेला । निश्चित अवधिका लागि विदेशी वा पर्यटक रोक्ने प्रयास संसारभरी भै रहेकाले हामीले त्यो गर्नै पर्दथ्यो र गर्दैछौँ पनि । यति गर्दागर्दै पनि सिंगापुर र थाइमा चढेर कोही विदेशी उत्रिहालेछ भनेपनि हामीले उसलाई युद्ध अपराधिको व्यवहार गर्न मिल्दैन । विश्व स्वास्थय संगठन र अन्य निकायहरुलाई गुहारेर भएपनि ‘मान्छे’ को व्यवस्थापन अनिवार्य हुन आउँछ । यसको मतलव विदेशीलाई खुल्ला गर्ने स्थिति होइन, प्रतिबन्धै गर्नुपर्छ यसमा दुईमत छैन ।
प्रभावित देशका विदेशी नागरिक रोक्ने अभ्यास जहाँ पनि भैरहेको छ । ‘सकभर जहाँ छौँ, त्यहि सुरक्षित हौँ, भन्नु नराम्रो होइन । आउनै पर्ने र अन्तरमन देखि आफ्नै घर जान्छु भनेर नेपाल आउने नेपालीहरुलाई ‘प्रतिबन्ध लाग्यो अब नेपाल नआउ’ भनेर फुक्न मिल्छ ? घरकै बाध्यताले काम गर्न गएका घरका सदस्य खटिरा, पीप, घाउ र सरुवा रोग नै बोकेर आएपनि उसको अभिभावकत्व लिन्न भन्ने घरको मुली कस्तो हुन्छ ?
हो, निश्चय पनि घरको आर्थिक अवस्था, कमजोरी र रोगी अवस्थामा घर पस्दा हुने जोखिम र त्यसले पार्ने प्रभावका बारेमा स्वय्मको मनोविज्ञान र आत्मबल प्रधान कुरो हो तर मेरै बुबा आमाको काखमा पल्टिन्छु, मेरै जहानबच्चासँग लुट्पुटिन्छु वा मेरै माटोको हावा लिन्छु भनेर फर्कने परिवारलाई तगारो हालेको ऐलान गर्नु कति जायज हो ? यो प्रश्नले मलाई घोत्लिरह्यो भने ५० डिग्रीको तातो घाममा सर्पसंग लुकामारी खेलेर र रगत समेत अर्पेर परीवारको हातमुख जोडाएकालाइ पनि प्रतिबन्ध भनिहाल्दा कसको मन दुख्दैन र । यस्तो भावुकतासंगै विदेशमा रहेका मित्रहरुको जिज्ञासा र सरकारको ‘आशंककारी सम्प्रेषण’ ले मलाइ पनि चिमोटीरह्यो ।
हाम्रो सरकारले केही गरेन र पुरै नराम्रो ग¥यो भन्ने मेरो आशय हँुदै होइन । कोरोना रोक्ने सरकारका प्रयास र पहल निकै राम्रा पनि छन् । तर सरकारमा भएकाहरुको बोली, भाषा र कतिपय उराठ व्यवहारले निर्दयीता ?’ बढेको हो की भन्ने आशका गराएको छ । अध्यागमन विभागमार्फत यस्तो सूचना जारी गराउँदा र लेखाउँदा पनि ध्यान नपुगेकै हो । हामी नेपाली भएकाले हाम्रो राज्य आफ्ना नागरिक माथि निर्दयीता प्रदर्शन गर्र्नै सक्दैन र कोही नेपाली जुनसुकै माध्यम अर्थात् जापानमा रहेको कुनै नेपाली अनुमतिवाला सिंगापुर र थाइ एयरको रुट मिलाएर नेपाल आइहाले भनेपनि सरकारले उनीहरुलाई उतै फर्क भन्न त सक्दैन, त्यो हामी पनि अनुमान गर्छौँ तर यस्तो परिस्थितिमा आफ्ना नागरिकप्रतिको दायित्वबोधको सम्प्रेषणमा सरकारको संवेदनशिलता कच्चि भयो भन्ने चाहिँ प्रष्टै भयो । आफ्ना नागरिकको मन दुखाउने काम त्यो पनि यस्तो घडी ! मा सरकारका तर्फबाट हुदै नहुनुपर्ने हो ।
यो संवेदनशिलतामा नागरिक दायित्व पनि निकै छन् । आफु रहेकै ठाउमा बस्ने,सुरक्षित हुन प्रयास गर्ने र सकेसम्म सरकारलाइ कम बोझ गराउने काम सबै नेपालीको हो । यति हुदाहुदै पनि राज्य अभिभावक भएकाले आफ्ना नागरिकलाई ‘विदेशी सरह डिल’ गर्नु हुदैनथ्यो । प्रष्ट छ की राज्यका जिम्मेवार प्रतिनिधिहरुमा चढेको मात र असंवेदनशिलताका कारण हामी झस्किने र तर्सिने स्थितिमा पनि छौँ । कतिपयको दम्भकारी बोली, आशंककारी सम्प्रेषण र तदर्थवादी व्यवहार देखिँदैमा निराश चाहि नबनि हालौँ । हामी नेपाली हौँ । नेपालीमात्रको माया र अपनत्व यतिबेला हामी सबैको प्रमुख दायित्व हो । रुखो र चर्को नबोलेर आफना जहान परीवारको रक्षा गर्न ,भावावेशमा आएर निर्दयीभाव सम्प्रेषण नगर्न र सबै नेपालीको अभिभावकत्व ग्रहण गर्ने तयारीमा लाग्न सरकारलाई अझै भनौँ ।
वि.सं.२०७६ चैत ७ शुक्रवार १३:०९ मा प्रकाशित