९ चैत, काठमाण्डौं । सरकारले चीन र भारततर्फका सबै नाका एकसाताका लागि पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भोली विहानदेखि दुवै देशका नाकाहरु पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।
भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको र विश्व स्वास्थय संगठनले भारततर्फका सबै नाका बन्द गर्न भन्दै नेपाललाई सचेत गराउँदै आएको थियो । तर, आफ्ना सीमा नाका बन्द गर्नुपर्ने प्रस्ताव नेपालले राख्दै आएकोमा भारतको जवाफ नआएको र शनिबार बसेको कोरोना रोकथाक तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकमा एकतर्फी रुपमा भएपनि सीमा नाका बन्द गर्नुपर्ने कुरा बैठकमा उपस्थित मन्त्रीहरुले राखेका थिए ।
त्यस्तै बैठकले शसस्त्र प्रहरीको अस्पतालाई कोरोना संक्रमितको मात्र उपचारका लागि प्रयोग गरिने निर्णय गरेको समेत बताइएको छ ।
बैठकले कोरोना भाइरसविरुद्ध लड्नका लागि चाहिने उपकरण तथा औषधिजन्य सामग्री खरिदका लागि सरकारका तर्फबाट १० करोडको राहतकोष खडा गर्ने निर्णय समेत गरेको छ । उक्त कोषमा प्रधानमन्त्री तथा मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने र अन्य सबैलाई उक्त कोषमा सहयोग गर्न आव्हान गरिने पनि निर्णय गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको दोश्रोपटक मिर्गौला प्रत्यारोपणपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठक हो यो । बैठक अघि प्रधानमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । भेटका क्रममा कोरोना भाइरसका विषयमानै छलफल भएको बताइएको छ ।
वि.सं.२०७६ चैत ९ आइतवार २०:४९ मा प्रकाशित






























