९ चैत, काठमाण्डौं । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न तथा त्यसबाट हुने संभावित खतराबाट बच्न नेपालमा पनि विभिन्न तयारी भइरहेको छ ।
यसैबीच कन्चनपुर जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेदेखि कन्चनपुर जिल्ला पूर्णरुपमा ‘लक डाउन’ गर्ने भएको छ । आजराति १२ बजेदेखि स्थानीय जनतालाई घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय कन्चनपुरको आइतबार बसेको बैठकले आकस्मिक उपचार बाहेक अन्य कामका लागि बाहिर ननिस्कन आव्हान गर्दै लक डाउनको निर्णय गरेको हो ।
यी हुन् बैठकका निर्णय
गड्डाचौकी नाकाबाट प्रवेश गर्ने सबै यात्रुको विवरण संकलन गरी सो विवणलाई कम्प्युटर प्रणालीबाट जिल्ला प्रशासनको कार्यालयको वेवसाइटमा राखिने ।
कोरोना संक्रमणको त्रासका र नजिकिदै गएको विषु पर्वका कारण घर फर्किने नेपालीहरुको भीड नाकामा देखिपरिरहेको हुँदा तत्काल नाका बन्द गर्दा पर्न सक्ने अप्ठेरोलाई मध्येनजर गरी चैत्र ११ गते मंगलबार बिहान ७ बजेदेखि अर्को सूचना नभय सम्मका लागि गड्डाचौकी नाकाबाट पैदल यात्रु समेत आवत जावत गर्न नपाउने ।
दैनिक उपभोग्य खाद्य वस्तु दूध, औषधि, पानी, पेट्रोलियम पदार्थ र उद्दार तथा राहत कार्यमा संलग्न यातायात बाहेक सबै प्रकारका पसल, व्यवसाय, उद्योग, कलकारखाना समेत ९ गते रातिदेखि बन्द गरिने छ ।
सर्वसाधारण नागरिकले आकस्मिक उपचार बाहेक अन्य कामका लागि घर बाहिर ननिस्कन आव्हान गरिन्छ । सूचनाको बर्खिलाप गरी विना कारण घरबाहिर निस्किएको पाइएमा सुरक्षाकर्मी तथा अधिकार प्राप्त अधिकारीले जाँचबुझ गरी कानुन बमोजिम गर्नेछन ।
सीमा नाकामा रहेका सबैप्रकारका मदिरा पसलहरु तत्काल बन्द गर्नुपर्दछ ।
सन्चारमाध्यम तथा सामाजिक संजाल समेतबाट गलत, भ्रामक र अफवाह फैलाउने खालका सूचना प्रकाशन प्रशासरण गर्ने व्यक्ति तथा संस्थालाई कनुन बमोजिम कारबाही गरिने छ ।

आज राति १२ बजेदेखि कन्चनपुरलाई ‘लकडाउन’ गरिने, यस्ता छन् अन्य निर्णय
वि.सं.२०७६ चैत ९ आइतवार २०:३४ मा प्रकाशित






























