१२ चैत्र, काठमाण्डौ । नेपाल बुद्धिजीवी संगठन केन्द्रीय समितिले डेरामा बस्नेहरुलाई सहुलियत दिन घरधनिहरुसंग अपिल गरेको छ ।
नेपाल बुद्धिजीवी संगठन केन्द्रीय समितिका तर्फबाट संयोजक डा दिनेशचन्द्र देवकोटा र सहसंयोजक कृष्ण केसीले एक अपिल मार्फत सो आग्रह गरेका हुन ।
उक्त बक्तब्यमा भनिएको छ ‘ विश्वव्यापी महामारीका रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) ले ल्याएको असहजता का कारण सिंगो मानव जाति नैकुनै न कुनै रुपमा प्रभावित भइरहेको छ । मानव जाति यस महामारीमाथि विजय प्राप्त गर्न निरन्तर प्रयत्नशील छ । जुन देशको सरकार र नागरिक कोभिड–१९ का विरुद्ध योजनावद्ध र अनुशासित ढंगले संघर्ष गरिरहेका छन्, उनीहरुले एकपछि अर्को सफलता पनि हासिल गर्दैछन् । यस अर्थमा कोभिड–१९ विरुद्धको लडाइँमा राज्य र नागरिकको सहकार्य अत्यावश्यक देखिएको छ ।
नेपाल सरकारले कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै चैत्र १८ गतेसम्मका लागि सिंगो देशलाई ‘लकडाउन’ गरेको छ । सरकारका तर्फबाट नागरिकका लागि आवश्यक पर्ने अत्यावश्यक वस्तुहरुको आपूर्ति, स्वास्थ्य परीक्षणमा देखिएको संवेदनशीलता र महामारीविरुद्ध लड्न नागरिकलाई गरेको अपील आफैंमा महत्वपूर्ण छ । सरकारले लिएका निर्णय नागरिकको सुरक्षाका लागि नै हुन् । यसर्थ, सरकारले लिएका नीतिगत र व्यवहारिक निर्णयहरुलाई दृढतापूर्वक पालना गरेर मात्र सम्भावित जोखिमलाई न्युनिकरण गर्न सकिन्छ । यसतर्फ सचेत रहन सम्पूर्ण नेपालीहरुमा नेपाल बुद्धिजीवी संगठन हार्दिक अपील गर्दछ ।
नागरिकप्रति संवेदनशील राज्य र आत्मअनुशासित नागरिकको एकताका बलमा मात्रै कुनै पनि महामारीविरुद्ध दृढतापूर्वक लड्न सकिन्छ । हामीलाई पनि अहिले त्यस्तै संवेदनशीलता र आत्मअनुशासनको एकता चाहिएको छ । त्यसका लागि नागरिकले पर्याप्त स्वास्थ्य सतर्कता अपनाउन जरुरी छ । लकडाउनको अवस्थामा घरबाहिर ननिस्कन, साबुन पानीले नियमित हात हुन, मास्कको अनिवार्य प्रयोग गर्न, शरीर तथा बासस्थान सफा राख्न, स्वस्थकर खानामा ध्यान दिन, अनावश्यक भ्रमबाट आतंकित नहुन र पर्याप्त सावधानी अपनाउन सबैमा अपील गर्दछौं ।
बुद्धिजीवीहरु समाजका सचेत र अगुवा नागरिक हुनुका नाताले नागरिकलाई सही सूचना र सन्देश प्रवाह गर्नु, समस्या परेका बखत खुला दिलले सहयोग गर्नु पनि हाम्रो जिम्मेवारी हो । तसर्थ, कोरोना भाइरसको महामारीविरुद्ध सरकारले खडा गरेको कोषमा सम्भव रकम सहयोग गर्न, आफ्नो घर, छिमेक र टोलमा समस्या परेमा नैतिक, भौतिक लगायतका सहयोग गर्न, कोरोना भाइरसबारे सचेतना प्रवाह गर्न र आफ्नो घरमा डेरा गरी बस्ने नागरिकलाई सम्भव सहुलियत प्रदान गर्न नेपाल बुद्धिजीवी संगठन हार्दिक अपील गर्दछ, । ’
१२ चैत्र, काठमाण्डौ ।
वि.सं.२०७६ चैत १२ बुधवार ०९:४२ मा प्रकाशित