१५ चैत, मकाउ । गैरआवासीय नेपाली संघ (एनआएरनए) मकाउले देशमा कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आर्थिक तथा अन्य सामग्री सहयोग गर्नका लागि त्यहाँस्थिति नेपालीसँग सहकार्य सुरु गरेको छ ।
संघले मकाउमा रहेका नेपाली व्यवसायी, सामाजिक व्यक्तित्व तथा त्यहाँ कार्यरत नेपालीलाई संसारभरी फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले सुरु गरेको कार्यमा सहयोग गर्न अनुरोध गरेको छ ।
संघका अध्यक्ष पुर्ण बहादुर गुरुङले शुक्रबार देखि मकाउका नेपालीवासीलाई सहयोगको अनुरोध गर्दै आर्थिक तथा सामग्री संकलन गर्ने अभियान सुरु गरेको संसारन्युजलाई जानकारी दिएका छन् ।
उनका अनुसार शुक्रबारै मकाउ बडी बिल्डीङ र फिटनेश एसोसियन, एनसीसी मकाउ स्र्पोटर्स प्रमुख र एनआरएनए स्र्पोटर्स एकाडेमी टास्कफोर्सका एसिया सदस्य श्रीजन बाबा भाइ र ब्रदरहुट एसोसियन मकाउका अध्यक्ष बम लिम्बुले ७ हजार थान सर्जिकल मास्क संघलाई हस्तान्तरण गरेका थिए ।
‘हामी यस अभियानमा लागिरहेका छौं । आजदेखि सुरु गर्यौ । साथीहरुले ७ हजार थान मास्क प्रदान गर्नुभएको छ । अब भोलीदेखि पूर्णरुपमा लाग्छौं ।’ गुरुङले भने ।
उनले उक्त मास्क विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार रहेको बताउँदै नेपालमा हाल जारी रहेको लक डाउन खुलेपछि उक्त सामग्री नेपाल पठाउने जानकारी दिए ।
उनले संसारभरीका मानिसलाई भाइरसका कारण संसारभरीका मानिसहरु पीडामा परेका बेला नेपालमा पनि त्यसको रोकथामका लागि सरकारले चालेको कदममा मकाउवासी नेपालीले सक्दो सहयोग गरिदिने आसा रहेको बताउँदै सबैलाई मातृभूमिको सहयोगका लागि एकजुट हुन अनुरोध गरेका छन् ।
वि.सं.२०७६ चैत १५ शनिवार १३:१७ मा प्रकाशित




























