नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को प्रवास समन्वय कमिटीले आज अमेरिकाको न्यूयोर्कमा नेपाली समुदायका निधनमा दुःख व्यक्त गरेको छ ।
कमिटीका अध्यक्ष युवराज चौलागाईंले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली समुदायका नेपालीको मृत्यु भएकोमा दुःख व्यक्त गरेका हुन् । उनले भनेका छन् ‘आज अमेरिकाको न्यूयोर्कमा नेपाली समुदायका सोनाम लामा र थोक्मे बिष्टको कोरोना भाइरस संक्रमणका कारण र अजयमान छोंचुको अन्य कारणले असामयिक निधन भएको खबरले दुःख लागेको छ ।’
उनले सम्पूर्ण मृतकहरुप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै संक्रमित नेपाली समुदायको स्वास्थ्यको शिघ्रलाभको कामना समेत गरेका छन् । भनेका छन् ‘न्यूयोर्कमा नेपाली संक्रमितहरुको संख्या ५०० को हाराहारीमा रहेको सूचनाहरु आइरहँदा हामी सबै संक्रमितहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं’ ।
साथै, त्यहॉ स्थित सबै नेपाली दाजुभाई दिदीबहिनीहरुमा दृढ मनोबल, उच्च सतर्कता र आपसी सहकार्य कायम राखी कोरोनाको चुनौतीलाई परास्त गर्ने सफलता मिलोस भन्ने कामना समेत उनले गरेका छन् ।
एकै दिन यति ठूलो संख्यामा कोरोनाका कारण यति धेरै नेपालीहरुको मृत्यु भएको यो पहिलो हो । मृतक मध्ये सोनाम लामा र थोक्मे बिष्ट नेपाली नागरिकका रुपमा नै त्यहाँ रहेका थिए ।
वि.सं.२०७६ चैत २३ आइतवार २२:०४ मा प्रकाशित






























