प्लेजियारिज्म अर्थात् बौद्धिक चोरी अपराध मानिन्छ । अर्काको लिखतलाई आफ्नो बनाउने र त्यसबाट लाभ लिने सवै कार्य बौद्धिक चोरी हुन् । खासगरी विश्वविद्यालयमा बुझाउनुपर्ने प्रोजेक्ट प्रतिवेदन, थेसिस तथा अन्य लिखित दस्तावेजमा व्यापक बौद्धिक चोरी हुने गरेको छ ।
१) पिएचडी गरेको वर्षौपछि सन् २०१२ मा बौद्धिक चोरी गरेको प्रमाणित भएपछि जर्मनीमा एकैपटक एक दर्जन राजनीतिज्ञले आफ्नो पदबाट हात धुनु परेको यथार्थ छ । ती मध्ये रक्षामन्त्री र शिक्षामन्त्री प्रमुख थिए ।
२) पिएचडीको लागि अनिवार्य गरिएपछि जर्नलमा देखा पर्ने लेखहरुमा प्रायस् बौद्धिक चोरी हुने गरेको पाइन्छ ।
३) हाम्रा विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर र विद्यावारिधि गर्ने कतिले बौद्धिक चोरी गरेका छन् भनेर नाप्ने आधार अझै बनाइएको छैन जवकि विश्वमा नाम चलेका विश्वविद्यालयले विद्यार्थीको होमवर्क समेत प्लेजियारिज्म चेकरमा राखेर मात्रै स्वीकार गर्ने परम्परा बसालिसकेका छन् ।
४) बौद्धिक चोरी विद्वानहरुले नै गर्दै आएका छन्र कतै भाषणमा, कतै छोटो लेखनमा, कतै किताव प्रकाशनमा, कतै प्रोजेक्ट डकुमेन्टमा, कतै जर्नल आर्टिकलमा त कतै थेसिसमा ।
के के भयो भने बौद्धिक चोरी ठहर्छ त ?
१) अरुको कामलाई बेवास्ता गरी सार्नु र आफ्नो भनेर जनाउनु । यस्तो परम्परा धेरै भेटिन्छ । तर कसैले वास्ता गरेमा वा खोजी गरेमा बौद्धिक चोरी जुनसुकै बेला पनि फेला पर्न सक्छ ।
२) अरुको विचारलाई आफ्नो विचार बनाउनु र सन्दर्भ नदेखाउनु , मौलिक व्यक्तिको पहिचान नखुलाउनुर मौलिक व्यक्तिको पहिचान नखुल्नु नै बौद्धिक चोरीको प्रमुख कारण हो ।
३) अरुको भनाईको प्याराग्राफ जस्ताको तस्तै उतार गर्नु तर कोटेसन चिन्ह भित्र नपार्नु र यसको अर्थ मौलिक व्यक्तिको विचार आफ्नो बनाएको ठहर्छ ।
४) आ जे लेखिदिए पनि हुन्छ भनेर एउटा सन्दर्भ लेख्नुपर्ने ठाउँमा अर्कै सन्दर्भ उल्लेख गर्नु र कैले काहीं सन्दर्भ सूची बनाउँदा कतिपयको सन्दर्भ टिप्न बिर्सेको वा कतै परेको हुन सक्छ, यस्तो अवस्थामा काम चलाउ त हो नि भनेर आफ्नो सजिलोको लागि मौलिक लेखक खोज्नु भन्दा अर्कैको सन्दर्भ राख्ने गरेको पनि भेटिन्छ ।
५) अरुको भनाईलाई केही शब्द मात्रै परिवर्तन गरी हुबहू उतार गर्नु र आफ्नो बनाउनु । विद्यार्थीहरुमा यस्तो रोग बढी देखा परेको छ । व्यस्त मान्छेले गर्ने भाषण अर्कैले बनाइदिंदा पनि यो समस्या देखा परेको छ । उदाहरणको लागि त्रिविको पोहर सालको दिक्षान्तमा उपकुलपतिले गरेको भाषण धेरै अगि सोही विश्वविद्यालयका उपकुलपतिले गरेको भाषणको नक्कल भेटिएको हो ।
६) अरुको लेखमा वा कितावमा वा थेसिसमा भएका कुराहरु अधिकांस उतार गरेर आफ्नो बनाउनु । यस्तो अवस्थामा सन्दर्भ उल्लेख भएपनि बौद्धिक चोरी ठहर्छ । खासगरी हाम्रा विश्वविद्यालयमा स्नातकोत्तरको थेसिस लेख्नेले यस्तो बदमासी गरेको उदाहरण बढी भेट्न सकिन्छ ।
यस्तो बौद्धिक चोरीले न त चोरी गर्नेलाई फाइदा पुग्छ न त नयाँ ज्ञानको सिर्जना नै हुन्छ । खासगरी विश्वविद्यालयले यस्तो अपराधको निर्मूल गर्नेतर्फ लाग्नुपर्छ ।
(शिक्षाविद् डा मनप्रसाद वाग्लेको फेसबुकबाट)
वि.सं.२०७७ वैशाख ३ बुधवार १८:३८ मा प्रकाशित