८ बैशाख, साउदी । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) साउदी अरबका अध्यक्ष तेज बहादुर थापाले साउदीमा कोरोनाको कारण प्रभावित नेपालीको बारेमा नेपाल सरकारले बेलैमा ध्यान देओस् भन्ने अनुरोध गरेका छन् ।
साउदीमा कोरोनाको महामारीका कारण भयावहको अवस्था सिर्जना भएमा नेपाल सरकारबाट नियमित रुपमा नेपाली नियोगहरुसँग सम्वाद र समन्वय गरि नेपालीहरुको अवस्थाबारे जानकारी हासिल गर्नुपर्ने र ३ लाख ५० हजार बढी नेपाली कामदारको बारेमा बेलैमा सोच्नुपर्ने बताएका छन् ।
यतिबेला साउदीमा कार्यरत नेपालीहरुमा अधिकांशको रोजगारी गुमेको अवस्थामा कतिपयलाई खान बस्नको समेत समस्याहरु आइपरेको गुनासाहरु पछिल्लोपटक दूतावासमै आउने गरेको र दूतावासले ती गुनासोहरु बेलैमा सम्बोधन गर्नुपर्नेमा थापाले जोड दिएका छन् ।
‘रोजगारी गुमाउनु पर्दा ३ लाख ५० हजारको हाराहारीमा साउदीमा कार्यरत नेपालीहरुको भविष्य अन्यौलमा रहेको छ यसबारे पनि नेपाली सरकारले सोच्नुपर्ने र नेपाली कामदारहरुलाई सुरुक्षित रुपमा स्वदेश फर्काउन पहल गर्नुपर्ने अवस्था आउन सक्ने हुनाले नेपाल सरकार तयारी अवस्थामा बस्नुपर्छ ।’ संसारन्युजसँग थापाले भने ।
साउदीमा संक्रमितको संख्या बढिरहेका कारण नेपाली श्रमिकहरुमा सन्त्रास बढ्दै गईरहेको छ भने साउदीका विभिन्न शहरहरुमा गरिएको लकडाउनका कारण व्यवसायमा असर परेकाले रोजगारदाताले तलव, सेवा सुविधा दिने÷नदिने वा कटौती गर्ने अन्यौलता श्रृजना गरेको छ । यसर्थ रोगबाट संक्रमित बढ्न सक्ने सम्भावनाको अलावा आगामी दिनहरुमा नेपाली कामदारहरुलाइ राहत खाद्य सामाग्रीहरुको अभाव हुने समेत देखिएको पनि उनी बताउँछन् ।
‘यिनै समस्याहरुलाइ मध्यनजर गरि एनआरएनए एनसीसी साउदी अरबको मौजुदा आपतकालीन उद्धार कोषबाट रु ५ लाखको रकम निकासा गरि मानवीय राहत तथा खाद्य सामग्री सहयोग गर्ने तयारी गरिरहेको छ’ थापाले भन,े ‘एनसीसी साउदि अरबबाट आईसीसीमा प्रतिनिधित्व गर्ने पदाधिकारी तथा पदाधिकारी लगायत मातहतका ६ वटा क्षेत्रीय समितिहरु जेद्धा, अवकासिम, जिजान, ताबुक, रियाद र पुर्वि क्षेत्र तथा स्थानीय समन्वय समितिहरु दम्माम, अलखोबर, अलहासा–अव्किक, जुबेल, कतिफ–तारुत तथा रहिमा लाई प्रतिनिधित्व गर्ने पदाधिकारीहरु सामेल गरि कोभिड–१९ उद्धार तथा सहयोग समन्वय समिति गठन समेत गरेको छ ।’
थपाका अनुसार उक्त समितिले भविष्यमा सम्भावित संक्रमित नेपालीहरुको तथ्यांक संकलन तथा आर्थिक मन्दिका कारण रोजगारदाताबाट पीडित नेपालीहरुलाई मानवीय राहत तथा खाद्य सामाग्री सहयोग गर्ने तयारीमा रहेको छ । साथै नेपाली दूतावासले पनि साउदीमा रहेका विभिन्न नेपाली संघसंस्थाहरुसँग प्रभावित नेपालीका बारेमा छलफल गरिरहेको पनि थापा बताउँछन् ।
साउदीमा हालसम्म कोरोना संक्रमितको संख्या १० हजार ४८४ रहेको छ । जसमा १०३ जनाको मृत्यु भएको छ ।
साउदी दूतावासले दिएको जानकारी अनुसार साउदीमा हालसम्म ४ नेपालीमा कोरोना संक्रमित देखिएको छ । जसमा ३ जना निको भएर काममा फर्किइसकेका छन् । उनीहरुको बारेमा दूतावास निरन्तर सम्पर्कमा रहेको समेत बताइएको छ ।
वि.सं.२०७७ वैशाख ८ सोमवार १९:४१ मा प्रकाशित






























