सनातन हिन्दू परम्परामा करिब २०० वर्ष अघि भारतवर्षमा बैदेशिक धर्मको हस्तक्षेप नहुँदासम्म महिनामा ५ दिन बिदा दिईन्थ्यो । १ दिन एकादशीमा, १ दिन औसीमा, पूर्णिमाको अघिल्लो, पूर्णिमा र पूर्णेको अर्को दिन गरी कूल ५ दिन । आईतबार शनिवार नयवा शुक्रबार बिदा हुने गर्दैन थियो । यी बारको जीवनचक्रसंग खासै अर्थ रहने गर्दैन पनि ।
हाम्रो शरीर-चक्र पूर्णतः चन्द्र-चक्रमा आधारित हुन्छ । जसले यसलाई महसूस गरेर यससंग सामन्जस्य राख्दैन, उसको मानसिक, शारीरिक, आध्यात्मिक र प्राण उर्जा डिस्टर्ब भएर जीवनशैली समस्याग्रस्त हुदै जाने गर्छ । प्रकृतिको तरंगबोध नगर्नेहरूमा देखिने यस्ता शारीरिक, मानसिक, भावनात्मक र प्राण उर्जामा आउने समस्याको ओखति गर्ने सामथ्र्य कसैमा हुदैन ।
मानिसलाई औंसीपूर्णे लाग्नु, एकादशीमा खाना खान मन नलाग्नु, शिवरात्रीमा फरक उर्जाको अनुभूति हुनु यिनै कारणले हो ।
हाम्रो जीवन चन्द्रमाको गतिको चक्र र तरंगमा आधारित छ । जन्मदिन भनेको जुन तिथिमा पर्छ, त्यही दिनलाई मान्दा हामी प्रकृतिको चक्र र तरंगसँग एकाकार भएको हुन्छौं । तिथि कृष्ण पक्ष( पूर्णेपछि) र शुक्ल पक्ष (औंसीपछि) प्रतिपदादेखि पूर्णे वा औंसीसम्म हुन्छन् । जुन तिथिमा आफू जन्मेको हो त्यो तिथिलाई वैदिक पद्दतिले अष्ठचिरंजीवीको पूजा गर्दै मनाउनु पर्छ, त्यही दिन दान दिने वा गरिब वा ब्राह्मणलाई खाना खुवाउनु लाभदायी हुन्छ भन्ने मान्यता छ । रमाईलो गर्ने, अरुले शुभकामना दिने एउटा कुरा होला तर ब्यक्तिलाई प्राकृतिक चक्रको दृष्टिले तिथिको जन्म दिनको अन्य दिन वा गते वा बार वा तारेखसंग जीवनमा खासै मतलब हुने गर्दैन ।
भक्ति मार्गका ५ रूप छन् । जिज्ञासु भावले, पितृभावले, मातृभावले, बात्सल्य भावले र मधुरभावले (प्रेमी वा प्रेमिका) भक्ति अर्पण हुने गर्छ ।
उपाध्याय नेपाल सरकारका पूर्वसचिव हुन्
वि.सं.२०७७ वैशाख ८ सोमवार २०:४५ मा प्रकाशित






























