कोरोनाको कहर कहाँ गएर समाप्त हुन्छ अझै ठेगान छैन् । विदेशमा नेपाली समुदायमा संक्रमण बढ्दो छ । उनीहरुको सहयोगको लागि विभिन्न समुह सकृय रुपमा लागेका छन् । प्रायः सबै देशमा गैरआवासीय नेपाली संघ र नेपाली कुटनीतिक नियोगको संयुक्त नेतृत्वमा राहत वितरणको काम भइरहेको छ । सबै देशमा २४ सै घण्टा हेल्पलाइन संचालनमा छन् तर केही संचारकर्मीहरु यथार्थ बुझ्ने प्रयासै नगरी नेपालबाट जुम घुमाएर बसेका छन् । ‘फलना संस्थाले न्युयोर्कमा यति डलर उठायो । ओहो ! गजव गर्यो,’ तर त्यही एनआरएनएले न्युयोर्कमा ३ हजार भन्दा बढीलाई राहत दिएको छ, करोड भन्दा बढी आर्थिक संकलन गरेको छ । २४ सै घण्टा हेल्पलाइन संचालन गरेर त्यहाँको सरकारले भन्दा ठूलो सेवा दिएको छ तर त्यो जुमको आँखा पर्दैन ।
यता दुईजना विद्यार्थी मिलेर सय जनाको नाम दर्ता गर्ने काम गरेछन्, ठूलै काम गरे । वेलायतमा यहाँको राष्ट्रिय हेल्थ सर्भिसले सिटामोल समयमा दिन सकेको छैन् तर एनआरएनएले घर–घरमा लगेर औषधि बाडेको छ तर देखिन्न् ! मध्यपूर्वमा युएईमा लगातार राहत वितरण भइरहेको छ । अहिलेसम्म २५ सय भन्दा बढीले राहत पाएका छन् । यस्ता दुई दर्जन देशमा १० हजार भन्दा बढीलाई गैरआवासीय नेपालीले राहत दिइसकेको छ । नेपालमा सरकार भन्दा अघि बढेर करिब २ करोडको स्वास्थ्य सम्वन्धी सामग्री सातै प्रदेशमा पठाईसकेको छ । संघले विश्वभरका कोरोना पिडितको तथ्यांक संकलन गर्दै आएको छ त्यसको लागि २५ जना गैरआवासीय नेपाली डाक्टरहरु सक्रिय छन् । गैरआवासीय नेपाली संघबाट एउटा राज्यसँग बराबरको सहयोगको अपेक्षा खोज्नु अल्पबुझाई हो । यो सामाजिक संस्था हो यहाँ राज्यको जस्तो कुनै ढुकुटी हुदैन् र छैन् । तर पनि करोडौं रुपैयाँको राहत बाड्न पछि परेको छैन् ।
संघको विदेशमा रहेका नेपालीहरुका भावनालाई नेपाल सरकार समक्ष पुर्याउने यसको मुख्य काम हो । त्यसमा एक रति विचलित छैन् । त्यसैले ह्यात होटलको निर्वाचनलाई हेर्ने चस्मा फालेर नयाँ चस्मा लगाएर गैरआवासीय नेपाली संघलाई हेरौं । कमजोर पात्रलाई प्रस्तुत गरेर भैरहेका कामलाई समेत ओझेलमा पार्ने काम नगरौं । ज्यानको बाजी लगाएर राहतमा खटिएकाहरुको आत्मवल बढाउने काम गरौं । राज्यको उपस्थिती भनेको नेपाली कुटनैतीक नियोगहरुमा मात्र सिमित छ । जनशक्ति निकै कम छ । यस्तो महामारीमा आधा दर्जन भन्दा कम जनशक्ति भएका दूतावासहरुले केही गर्न सक्ने अवस्थामा छैनन् । गरेनन् भन्न पनि मिल्दैन् । गैरआवासीय नेपाली संघ र सरकारी नियोग बाहेकका प्रायः संघसँस्था अहिले आइसोलेसनमा छन् । त्यसैले यो महामारी बिरुद्ध सबै पक्ष एक भएर भिड्नुको विकल्प छैन । बचौं र बचाऔं ।
लेखक शर्मा, एनआरएनएको कोभिड- १९ उच्चस्तरीय समितिका संचार संयोजक हुन्
वि.सं.२०७७ वैशाख १० बुधवार १९:५९ मा प्रकाशित






























