

७ पुस, गौशाला । स्वास्थ्य मन्त्रालयका पूर्व सहसचिव डा गरिबदास ठाकुरले आज महोत्तरी जिल्लाको धीरापुरस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई रु १० लाख मूल्य बराबरको जग्गादान गर्नुभएको छ ।
विद्यालयमा भवन तथा खेल मैदानको लागि जग्गा अभाव रहेको बेला विद्यालय प्रशासनको आग्रहमा डा ठाकुरले सो विद्यालयलाई चार कट्ठा जग्गादान गर्नुभएको स्थानीय रामलोचन ठाकुरले बताउनुभयो ।
सो जग्गामा विद्यालय प्रशासनले केही दिनभित्रै भवन निर्माण गर्ने तथा बाँकी जग्गा खेल मैदानमा प्रयोग गर्ने जनाएको छ ।
हालसालै स्वास्थ्य मन्त्रालयको सहसचिवबाट अवकाश प्राप्त गर्नुभएका डा ठाकुरले आफ्नो जन्मभूमि एवम् पैतृक गाउँको जमिन विद्यालयलाई प्रदान गरेर सेवा गर्न पाउँदा निक्कै खुसी लागेको बताउनुभयो ।
एक महिनापछि गाविस कार्यालयको तालाबन्दी खोलियो
सचिव सरुवा रोक्काको माग गर्दै महोत्तरी जिल्लाको महदैया तपनपुर गाविसको कार्यालयमा विगत एक महिनादेखि गरिएको तालाबन्दी आज बिहान खोलिएको छ ।
सो गाविसका सचिव रामएकवाल यादवलाई सरुवा गरेपछि स्थानीय राजनीतिक दलसहित सर्वसाधारणले मङ्सिर ६ गते सचिव सरुवा रोक्काको माग गर्दै गाविसमा तालाबन्दी गरेका थिए ।
आज एक महिनापछि पुनः सोही सचिवले गाविसको कामकाज गर्न आउँदा सर्वदलीय संयन्त्रसहित सर्वसाधारणले सचिवको स्वागत सहित गाविस कार्यालयमा लगाएको ताल्चा खोलेर कामकाज सुचारु गराएको राप्रपा नेता हेमशङ्कर यादवले बताउनुभयो । रासस
वि.सं.२०७३ पुस ७ बिहीवार ०८:३९ मा प्रकाशित