२३ बैशाख, ओमान । महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) का कारण ओमानमा हुन गएको बन्द, लकडाउन र यसले निम्त्याएको प्रत्यक्ष असर ओमानमा कार्यरत नेपालीहरुमा पनि परेको भन्दै प्रवासी नेपाली एकता मन्च ओमानले दूतावासको ध्यानाकर्षण गराएको छ ।
मन्च्ले हालको यस्तो विषम परिस्थितिमा सबैको अविभावक तथा नेपाल सरकारको सम्बन्धित निकाय ‘नेपाली राजदूताबासमार्फत अपेक्षा गरिएका केही कुराहरु ज्ञापनपत्र मार्फत जानकारी गराएको छ ।
यस्तो छ मन्चका अध्यक्ष उमेश विक र महासचिव महेश न्यौपानेले ध्यानकर्षण गराएको केही बुँदासहितको ज्ञापनपत्र
‘उपरोक्त सम्बन्धमा ओमनस्थित करिव २० हजारको हाराहारीमा रहेका नेपाली कामदारहरु सबै राम्रो स्तरको काममा अथवा राम्रो पारिश्रमिकमा नभई घरेलु कामदार, होटल–क्याट्रिङ्ग , ब्यापार, भवन निर्माण, खेती तथा बगैंचाको काम एवं स–साना कम्पनीहरुमा थोरै पारिश्रमिकमा आफना दैनिकी बिताउँदै आएका नेपाली दाजु भाई दिदी बहिनीहरुलाई विश्व महामारीको रुपमा फैलिएको भाईरस कोभिड १९ का कारण हुन गएको बन्द, लकडाउन र यसले निम्त्याएको प्रत्यक्ष असरहरु प्रति हामी सबै जानकार नै छौ ।
यसै सन्दर्भमा नेपाली दाजुभाई दिदीबहिनीहरुले हालको यो विषम परिस्थितीमा हामी सबैको अविभावक तथा नेपाल सरकारको सम्बन्धित निकाय “नेपाली राजदूताबास मार्फत अपेक्षा गरिएका केही कुराहरु यस ज्ञापनपत्र मार्फत जानकारी गराउन चाहन्छौं । जुन बुँदागत रुपमा तपशिल बमोजिम उल्लेख गरेका छौं ।
१-ओमनमा रहेका नेपाली नागरिकहरु मध्य कोरोना कोभिड १९ बाट सक्रमित सङ्ख्या रहेको या नरहेको, रहेको भए के कति संख्यामा रहेको यसको विवरण नाम ( ठेगाना खुलाउँदा अप्ठेरो हुने देखिए पनि संख्या र संक्रमित स्थल सम्म दैनिक जानकारी गराउने वातावरण भइदिए थप सचेत रहन सजिलो हुने कुरा यहाँ समक्ष जानकारी गराउन चाहान्छौ ।
२- कोभिड १९ बाट संक्रमित भई उपचार गर्न नसकेका अथवा कामदार कम्पनीले बेवास्ता गरिएका संक्रमित नेपाली नागरिकको जीवन रक्षाका निमित्त नेपाली राजदुतावासले के कस्ता गृहकार्य गरिराखेको छ ? गृहकार्य नभएको भए यस सम्बन्धमा दूतावास उत्तरदायी भै सम्बन्धित कम्पनी रस्पोन्सरहरुसँग सहजीकरण गरि ब्यबस्थापन गर्न गराउन अनुरोध गर्दछौ ।
३ -विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसका कारण हुन गएका बन्दावन्दी (लकडाउन) ले नेपाली कामदारहरुले कामगर्ने धेरै जसो कम्पनीहरु बन्द हुनगई आर्थिक रूपमा धरासायी बन्दै गएको र काम नचल्ने, पाउनु पर्ने मासिक पारिश्रमिकहरु नपाउने, खानबस्न समेत अप्ठेरो परेको जस्ता समस्याहरु ओमानको दुरदराजबाट दिनहुँ आउने गरेकोले दूताबासले आफ्ना नागरिकहरुको सुरक्षाको निमित्त राहात वितरण प्रक्रिया के कति गरेको छ र यो कार्यलाई तिब्रता दिदै पीडितहरुको कम्पनी र स्पोन्सरहरुसित सहजीकरण गरि संबन्धित कम्पनी र स्पोन्सरहरुले नै ब्यबस्थापन गर्नेगरी क्रियाकलाप गर्न गराउन अनुरोध गर्दछौ ।
४ -ओमनमा कोरोना संक्रमित संख्या दिनानुदीन बढीरहेको,केही नेपाली पोजेटिभ भएको सार्वजनिक भएको सत्यतथ्य जानकारी के कति छ, र अन्य पीडित नेपाली मजदुरहरु यो परिस्थितिमा घर फर्कन चाहानेको संख्या धेरै देखिएकोले तत्काल नेपाल सरकारसँग समन्वय गरेर आवस्यक ब्यवस्थापनका निम्ति उपयुक्त कदम चालिदिनु हुन समेत अनुरोध गर्दछौ ।
५- अबैध रूपमा र दूतावासको शरणमा आएका र सामान्य क्वारेन्टाइनमा राख्ने ब्यबस्था अनि स्वदेश नफर्किदा सम्मको लागि दूतावासले खानवस्न र पीडितहरुको लागि केकस्ता पहल गरिरहेको छ या छैन ? तत् सम्बन्धी तत्काल नेपाल सरकार सँग समन्वय गरेर पीडितहरुलाई राहत प्याकेज तयार गर्न र वास्तविक पीडितको पहिचान गरेर मात्र राहत वितरण प्रणाली अपनाउन अनुरोध गर्दछौं ।’
वि.सं.२०७७ वैशाख २३ मंगलवार २०:४८ मा प्रकाशित






























