१२ जेठ, बैतडी । जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत पाँच प्रहरीको आरडिटी पोजेटिभ देखिएको छ ।
आइतबार गरिएको २५ जनाको आरडिटी परीक्षणमा पाँच प्रहरीमा आरडिटी पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । आरडिटी पोजेटिभ आउनेमा दुई हबल्दार र तीन जवान रहेका छन् । उनीहरूको २५ देखि ३५ वर्ष उमेर समूहका रहेका छन् । यसमध्ये एक महिला हबल्दारसमेत रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए । उनका अनुसार पोजेटिभ देखिएका पाँचै जनालाई सदरमुकाम गोठलापानीमा रहेको बसपार्कमा आइसोलेशन निर्माण गरेर राखिएको छ ।
शिवनाथ गाउँपालिका घर भएका २२ वर्षीय युवक जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका बेला शुक्रबार कोरोना पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय सिल गरेर प्रहरीहरूको कोरोना परीक्षण गरिएको थियो ।
शनिबार सङ्क्रमितको प्रत्यक्ष सम्पर्क (रेड जोन)मा रहेकाहरूको ३२ प्रहरीसहित ४६ जनाको स्वाब सङ्कलन गरिएको थियो । आइतबार (ग्रिन जोन)मा रहेकाहरूको आरडिटी गरेको भए पनि पोजेटिभ आउँदा जिप्रकाका प्रहरीहरू त्रसित बनेका छन् ।
शुक्रबार सिल गरिएको जिप्रका हिजो स्वाब सङ्कलनपछि केही सामान्य अवस्थामा फर्किरहेका बेला पाँच जनामा आरडिटी पोजेटिभ आउँदा प्रहरी कार्यालय पूर्णरूपमा सिल गरिएको प्रहरी प्रमुख पाण्डेयको भनाइ छ । रेड जोनको स्वाब सङ्कलन गरेपछि सामान्य अवस्थामा फर्किरहेको प्रहरी कार्यालयका ग्रिन जोनमा रहेका प्रहरीमा आरडिटी पोजेटिभ आउँदा समस्या भएको छ ।
वि.सं.२०७७ जेठ १२ सोमवार ०७:२६ मा प्रकाशित






























