१४ जेठ, काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ प्रस्तुत हुने कार्यसूची थियो । सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन प्रस्ताव पेस गर्ने कार्यसूची थियो । तर, बैठकको कार्यसूची परिवर्तन गर्दै विधेयक प्रस्तुत नगरिएपछि जनमानसमा कतै देश र जनताप्रति धोका त हुने होइन ! भन्ने आशंका सिर्जना भएको छ ।
संसदले संविधान संसोधनलाई बुधबारको कार्यसूचिमा नराखेपछि भारतीय मिडियाहरुले यसलाई आफ्नो निर्णयबाट पछि हटेको भन्ने अर्थमा बिग समाचार बनाएर एकोहोरो फुकिरहेका छन् । एकातिर भारतीय मिडियाहरुको प्रचारबाजी, अर्कोतर्फ नेताहरुले यसअघि पनि पटकपटक राष्ट्रघात गरेको देखेकै कारण नेपाली जनतामा आशंका उठ्नु स्वभाविक पनि हो ।
तर आमनागरिकमा उठेको आशंका जस्तै सरकार संविधान संसोधनबाट पछि हटेको नभै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समय माग गरेका कारण बुधबारको कार्यसूचिमा नपारिएको बताइएको छ ।
मंगलबार बसेको सर्वदलीय बैठकमा संविधान संशोधनको प्रस्तावका लागि कांग्रेसले केही समय मागेपछि बुधबारको बैठकबाट उक्त प्रस्ताव हटेको नेकपा नेता सुवासचन्द्र नेम्वाङले बताएका छन् । आफूहरु सरकारले गरेको निर्णयको पक्षमा भएपनि केन्द्रीय समितिको बैठक बसेर यसबारे निर्णय गर्न पाउनुपर्ने भन्दै सभापति शेरबहादर देउवाले समय मागेपछि बुधबारको संसदको बैठकमा संविधान संसोधनलाई प्रस्तावबाट हटाइएको बताएका छन् ।
तर नेपाली काँग्रेस संसदीय दलले भने संसोधन प्रस्ताव कार्यसूचीबाट हटाइएको सम्बन्धमा खण्डन गरेको छ । संघीय संसदको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाडद्वारा विज्ञप्ति प्रकाशित गरी कार्यसूचिबाट प्रस्ताव हटाउने अनि त्यस बारे प्रतिपक्षी दललाई आरोपित गर्न खोज्ने कार्यलाई गम्भिरतापूर्वक लिएको उल्लेख छ ।
जेष्ठ ११ गते बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले जेष्ठ १३ र १५ गतेका लागि प्रतिनिधिसभाको बैठकको कार्यक्रम निर्धारण गरेको तर जेष्ठ १४ का लागि बैठक अथवा कार्यसूचि निर्धारित नभएको उक्त विज्ञप्तिमा स्पष्ट पारिएको छ ।
‘संविधान संसोधन जस्तो विषयमा सरकार, प्रतिपक्ष र संसदमा रहेका दलहरु एक ठाउँमा उभिएर अघि बढ्न सकिने स्थिति निर्माण गर्न तर्फ लाग्नु भन्दा सम्भावित कार्यसूचिबाट प्रस्ताव हटाउने अनि प्रमुख प्रतिपक्ष दललाई त्यसबारेमा आरोपित गर्न खोज्ने कार्यलाई हामीले गम्भिरतापूर्वक लिएका छौँ,’ विज्ञप्तिमा भनिएको छ ।
‘काँग्रेस संसदीय दल यस्तो प्रवृत्तिको निन्दा गर्दै गम्भिर राष्ट्रिय एकताको भावनासाथ कार्य गर्न सरकारलाई आग्रह गर्दछ, भनिएको छ ।
वि.सं.२०७७ जेठ १४ बुधवार २०:३७ मा प्रकाशित






























