
१८ जेठ, काठमाण्डौं । पाँचजनाको ज्यानै जाने र एकजना बेपत्ता हुने गरी भएका रुकुम पश्चिमको चौरजहारीमा भएको घटनामा पानीमा डुबेर मृत्यु नभई कुटपिटबाट मृत्यु भएको पोस्टमार्टम रिर्पोटले देखाएको छ ।
जेठ १० गते भएको उक्त घटनामा पाँच युवाको शब भेरी नदीमा भेटिएको थियो भने एकजना अझै बेपत्ता भएका छन् । नदी किनारमा भेटिएका पाँच युवाको पोस्टमार्टम रिर्पोटले कुटपिटबाटै मृत्यु भएको बताएको छ ।
पोस्टमार्टममा संलग्न चिकित्सकले मृतक पाँचैजनाको शरीरका विभिन्न भागमा चोट देखिएको बताएका छन् । पोस्टमार्टममा संलग्न एक चिकित्सकले मृतकहरुको टाउको, हातखुट्टा, छाती र पिठ्युँमा चोटपटक लागेको देखिएको बताएका छन् । उनले नदीमा बगेपनि पेटमा पानी भरिएको नदेखिएको बताएका छन् ।
उनका अनुसार डुबेर मृत्यु भएका मानिसको पेट पानी भरिएर फुल्ने गर्छ । तर त्यस्तो देखिएन । उनीहरुको मृत्यु पानीमा डुबेर नभएको देखिएको ति चिकित्सकको भनाई छ । अस्पतालले मृतकको शरीरका विभिन्न नमुना भिसेरा परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाण्डौंमा पठाइएको बताइएको आइतबारको नागरिक दैनिकमा समाचार छ ।
यस घटनालाई लिएर राष्ट्रिय दलित आयोगका पूर्वउपाध्यक्ष मान बहादुर नेपालीले केही स्थानीय तथा जनप्रतिनिधिले घटना तोडमोड गरी दोषिलाई उम्काउने प्रयास गरिएको आरोप लगाएका छन् । ‘घटनामा वडाअध्यक्ष डम्बर बहादुर मल्ल प्रमुख दोषि हुन् । उनकै संलग्नतामा यो सबै घटना भयो,’ उनले भने, ‘ तर अहिले नेताहरुले अपराधिलाई बचाउने गरी वक्तव्य दिने गरेका छन् ।’