दलित समुदायका अरु धेरै राजनैतिक र अधिकारका मुद्दाहरु छन् ती मुद्दाहरुमा वहांहरु नै बढी लड्नु पर्छ तर छुवाछुत र जातीय विभेदको मुद्दा ‘कमन’ मुद्दा हो । यसको अन्त्यको लागि हामी संगै भीड्नु पर्छ । अझ छुवाछुतको संरचना भत्काउन ब्राह्मण र क्षेत्रीहरु नै बढि लाग्नु पर्छ ।
ब्राहमाणबाद भन्ने शब्दबाट ब्राहमण समुदायका मान्छेहरु रिसाउन पर्ने अवस्था नै छैन किनकि बाद भनेको पद्धति हो । शब्दले जहिले पनि पोजेटिभ या नेगेटिभ उर्जाको उत्पादन गर्छ । तर विंसौं शताब्दीको सबैभन्दा विनासकारी पद्दति नै ब्राह्मणवाद भयो । २१ औं शताब्दीमा ब्राहमणबाद सुक्षमतातिर गयो। मौन अस्त्रले हानिरहेछ ।
कर्मकाण्डीरूपमा गरिने हरेक कुरामा ब्राह्मणवाद हुन्छ । ब्राहमणबाद र कर्मकान्डवाद एउटै हुन् । जब हामी मेथडको कुरा गर्छौं त्यहां पनि ब्राहमणबाद हुन्छ। जब हामी पद्दतिको कुरा गर्छौं, त्यहां पनि ब्राहमणवाद हुन्छ। जब हामी अहंकारको कुरा गर्छौं त्यहां पनि ब्राहमणबाद हुन्छ । जहां विभेद, घटन र विघटन हुन्छ, त्यहां ब्राहमणबाद हुन्छ । जहां रंगभेद हुन्छ त्यहां ब्राहमणबाद हुन्छ, जहां वाद (बचन, कुरा, बोली) हुन्छ त्यहां विवाद (बचन, कुरा, बोलीमा गरिने खण्डन) हुन्छ । जहां यी कुरा हुन्छन् त्यहां ब्राहमणबाद हुन्छ । जहां संस्था हुन्छन् त्यहां ब्राहमणबाद हुन्छ। ब्राहमणबाद भनेको कुनै जात विशेषको कुरा होइन । पद्दति र प्रवृति हो । हरेक समाजका ब्राहमणहरुले शास्त्र लेखे, कथ्य निर्माण गरे, व्याख्या गरे र समाजमा नियम लादे र अक्सर शासकीय शक्तिका मूखपत्रको रूपमा पनि काम गरे । कानुन व्याख्याको अधिकार आफ्नो हातमा राखे ।
संसारको सबैभन्दा ठुलो ब्राहमणबादी देश भनेको अमेरिका हो । यसले नै संसारको विधिविधान र कर्मकाण्डीय पद्दति र त्यसमा प्रयोग हुने सामाग्रीको निर्णय गर्छ । निर्णयसिन्धु पनि त्यसैसंग छ कुरा बाझिने देखिएमा । संसारका सबैभन्दा ठुला कर्मकाण्डीहरु (high priests/priestesses) हरू उत्पादन गर्ने गुरूकुलहरू पनि अमेरिका र बेलायत मै छन् । जो पायो त्यही ती गुरूकुलमा भर्ना हुन पाउंदैनन ।
अमेरिकामा बोस्टन ब्राह्मण भन्ने एउटा समूह छ, त्यो आफूलाई निकै उच्च मान्छ । हार्भड नामगरेको गुरुकुल नजिकै छ। त्यो गुरुकुलको सिको अरुले पनि गर्न खोज्छन् । त्यहांबाट निसक्ने पद्दति, विधिविधान र कर्मकाण्डका म्यानुअलहरु अचुक मान्ने चलन छ।
अब कुरो रह्यो ब्राहमणबाद र बाहुनबादमा रहेको फरक । तथाकथित, पढेका, सम्भ्रांत, संस्कारीहरूले निर्माण गरेको विभेद र कर्मकाण्डको पद्धति ब्राहमणबाद हो भने ब्राहमणबादको नक्कल गर्ने कथित निरक्षरता, अल्पसाक्षरता, अभाव, गरिबीबाट पिल्सिएकाले निर्माण गरेको पद्धति बाहुनबाद हो । यी दुबै पद्दति हरेक देश र समुदायमा छन् । बाहुनबाद या ब्राहमणबाद अहिलेको संसारको समस्या हो । ब्राहमणबाद भित्र समावेसिता, न्याय, मानवतावादका चर्का चर्का नारा लाग्छन् तर आफ्नो नाकमुनि ती नाराहरुको धज्जी उडिरहंदा उ देखेको नदेखेझैं गर्छ । अहिलेको ब्राहमणबाद या बाहुनबाद धेरै जटिल छ किनकि एकठांउका बाहुन अर्को ठाउंका तिउनताउन पनि भैरहेका हुन्छन् ।
छुवाछुत, जातीय विभेद, लवज सम्बन्धी विभेद, रहनसहन र शारीरिक र सांस्कृतिक भिन्ताका आधारमा गरिने विभेदमा सेन्स अफ कमनालिटि देखिन्छ । त्यसैले छुवाछुत र जातीय विभेदको अन्त्य छिटै गर्ने हो भने विभेद विरुद्धको आन्दोलनलाई मानवतासंग जोड्नु पर्छ । तर एउटा धार्मिक र अर्को एन्जीओवाला ब्राहमणबादीहरूको गिरोह यस्तो छ जसले विभाजन र वैमनस्यताको चारो फालिरहन्छ र मानवीय मुद्दालाई जातीय मुद्दामा अल्झाईरहन चाहन्छ । यो पनि ब्राहमणबादको विधिविधान र पद्दति हो । यसबाट देशी र विदेशी पण्डित र एनजीओवालाको वृतिविकास त हुन्छ तर पिल्सिएका जनताको अवस्था जिउंकातिउं रहन्छ । मैले यसलाई poverty trafficking (गिरवी वेचविखन) र transacting humanity (मानवताको सौदाबाजी) भन्ने गरेको छु । यस सौदाबाजीमा विभिन्न खालका “इन्ट्रेस्ट”हरू लागिरहेका छन् । विभेद र छुवाछुत हटाउने भन्दा यस विषयलाई कटियामा माछा पार्न उनेको गड्यौलाझैं उनिरहन चाहान्छन् । संसारका ब्राहमणबादीहरु नयां कटिया र गड्यौलाको आविष्कार गरिरहन्छन् ।
ग्लोबल ब्राहमणबाद
देश यति विभक्त र परनिर्भर भैसक्यो जसरी हिंजो भारतका रजौटाले छिमेकी राज्यका राजा र नेपालका रणाले आफ्ना भाइभतिजालाई विश्वास गर्नु भन्दा फुटाउ र शासन गर भन्ने कुटिल र प्रच्छन्ननीति लिएका अंग्रेज़ी ब्राहमणहरुलाई विस्वास गर्थे त्यसैको निरन्तरतास्वरूप एक आपसमा शंका तर विदेशीमा विस्वास गर्ने पद्दति अहिलेको राष्ट्रीय ब्राहमणबादमा छ । ब्राहमणले बाहुनलाई फुटाऊ र शासन गरको रणनीतिमा फुटसोल्जरको रुपमा प्रयोग गरेझैं आईएनजीओले लोकल एनजीओलाई प्रयोग गर्छन् । यस अर्थमा आइएन्जीओ ‘ब्राहमण’ हुन एनजिओ ‘बाहुन’ हुन्।
दक्षिण एशियाली ब्राहमणबादको चुरो
अंग्रेजहरुले चाहेको भए भारतमा जात व्यवस्थाको अन्त्य गर्न सक्थे तर उनीहरुले जात व्यवस्था कायम राख्नु मै फाईदा देखे । त्यहां ब्राहमणबादलाई मलजल गर्ने पनि तिनै हुन् । वेद, उपनिषद् र गीताको उल्था गरेर अंग्रेजहरुले नपढेका भए, अहिले यी सबै हराइसक्थे । अवधि, भोजपुरी, मिथिला र पर्वते भाषाले विकास गर्थे । नेपालमा समेत संस्कृत हराइसकेकोले भानुभक्तले रामायणको उल्था नेपालीमा गरे । तर अहिलेसम्म कुनै अभिलेखालयमा भानुभक्तले संस्कृतको कुन मूल कपिबाट उल्था गरेका हुन् त्यो हामीसंग छ जस्तो लाग्दैन । जसरी नेपाल र इण्डियामा योग लुप्त प्रायः भैसकेको थियो पछि अमेरिकनहरूले योगा भनेर मार्केटिंग गरेपछि यो अहिले सेक्सी भएको हो । रामदेवले भारतमा प्रचार गर्नु अघि नै अमेरिकामा योगा हुने गर्थ्यो । यता फेसनेवल नभएको भए उता हवा खान्थ्यो ।
तसर्थ छुवाछुतको अन्त्य कसले गर्न सक्छ ?
अहिलेका प्रभू भनेका अमेरिका, वेलायत र युरोपियन देश एवं विश्व बैंक, एडिवी, यु एस एंड, डिफिड, जिआइजेड, नोर्याड, युएन लगायतका वैदेसिक नियोगले चहाने हो भने जातीय विभेद र छुवाछुत दुई बर्षमा नेपालवाट निमिट्यान्नै हुन्छ तर तिनीहरु त्यो गर्न चाहन्न ।
विभेद र उपनिवेसबादको हवलदार देसी तथा विदेशी विकासे संस्था, विकेका संचार गृह र पत्रकार एवं तथाकथित नागरिक समाजले सुको नआउने देखेपछि मुसो जति पनि चुइक्क गर्दैनन् ।
जातीय विभेद र छुवाछुतको पीडाले थिचिएका मेरा दाजुभाई दिदीबहिनीहरूले भोगेको पीडा त मैले अनुभव गर्न सक्दिन तर वहांहरुले पनि मेरा पूर्खाहरुले निर्माण गरेको विभेदको संरचना म र मजस्ता यी संरचना भत्काउन खोज्नेहरुले भत्काउन खोज्दा बल नपुगेर धंगधंगिएको पीड़ा महसुस गर्न सक्नुहुन्न । त्यसैले पीड़ा जोर्नी (pain points/joints )मा हामीहरु जोडिनु पर्छ । दलित समुदायका अरु धेरै राजनैतिक र अधिकारका मुद्दाहरु छन् ती मुद्दाहरुमा वहांहरु नै बढी लड्नु पर्छ तर छुवाछुत र जातीय विभेदको मुद्दा ‘कमन’ मुद्दा हो । यसको अन्त्यको लागि हामी संगै भीड्नु पर्छ । अझ छुवाछुतको संरचना भत्काउन ब्राह्मण र क्षेत्रीहरु नै बढि लाग्नु पर्छ ।
वि.सं.२०७७ जेठ १८ आइतवार ११:५० मा प्रकाशित






























