म आउँदै थिएँ । अँ,म विस्तारै आउन चाहन्थें । बाटामा धेरै बिसौनीहरु भेटिइरहेँ । म घुम्तीहरु घुम्दै कम गतिले सुस्ताई सुस्ताई आइरहेँ । फेरि म द्विविधामा पनि थिएँ । ‘कुन साइतमा कताबाट छिरुँ ! तिमीलाई भेट्न । दायाँबायाँ कताबाट प्रवेश गरुँ ? विचार गर्दा गर्दै पछाडितिर खुल्ला सिमाना भेटेँ त्यतैबाट छिरेँ ।’ तिमीसँग भेट भो रमाएँ । फेरि पनि तिम्रो ढिलासुस्ती देखेर थोरै समय पर्खें तर तिमीले टेरपुच्छर लाइनौ ! मलाई व्यवस्थित गर्ने सामग्री जुटाउने योजनै फितलो ! निर्देशनै अस्पष्ट ! कार्यन्वयनमा गजबको ढिलासुस्ती ! म त तिमी र तिम्रो काम गर्ने समूह देखेरै हैरान । छिटोछरितो प्रणाली खै ? समयको माग र सर्वसाधारण सदस्यहरुको आवश्यकता के हो ? चाल पाउन्नौ कि के हो प्रिये ?
‘प्रिये सन्च सुविस्ता छ नि ! ल,सुरक्षित रहनु,घरमै बस्नु, म आउँदै छु,यथाशीघ्र आइपुग्छु । तिमीले आफू र सिङ्गै परिवारलाई स्वस्थ राख्न आवश्यक उपायहरु ठिक समयमा ठिक तरिकाले बन्दोबस्त गर्नु, अलमल नरहोस् ल ।’ यो खबर दिएर म विश्व भ्रमणमा निस्केको । समय पाएर पनि तिमी सन्च कानमा तेल हालेर बसिछौ ? बेलैमा पाएका सूचनाको अर्थ कानमा तेल हाल्नु थिएन नि प्रियसी……!
हो, म बाटो लागिसकेँ, शीघ्र आउँछु । तिमीलाई अवगत भएकै हो । मलाई तिम्रो सम्झनाले कोट्याइरह्यो बिर्सनै मुस्किल भो फेरि छिमेकीले पनि त तिम्रो स्वागत नगराई मान्ने कुरै गर्दैन । त्यसैले मैले पनि तिमीलाई ‘म बाटोमा छु छिटै र अकस्मात् आइपुग्छु तयार रहनु नि’ सन्देश पठाएर अवसर दिएँ तैपनि तिमी मस्त निदबाट बिउँझिनछौ । हिजोदेखिको ढिला सुस्ती, उस्तै अलमल चाल आज पनि ! आफ्नो घरपरिवारको जतन गर्न पनि तर्कवितर्क गरेर पानीमाथि ओभानु हुने बेहोसीमा नरमाएको भएहुन्थ्यो तर तिमी त्यसैमा लतपतिइछौ!
म आउँदै थिएँ । अँ,म विस्तारै आउन चाहन्थें । बाटामा धेरै बिसौनीहरु भेटिइरहेँ । म घुम्तीहरु घुम्दै कम गतिले सुस्ताई सुस्ताई आइरहेँ । फेरि म द्विविधामा पनि थिएँ । ‘कुन साइतमा कताबाट छिरुँ ! तिमीलाई भेट्न । दायाँबायाँ कताबाट प्रवेश गरुँ ? विचार गर्दा गर्दै पछाडितिर खुल्ला सिमाना भेटेँ त्यतैबाट छिरेँ ।’ तिमीसँग भेट भो रमाएँ । फेरि पनि तिम्रो ढिलासुस्ती देखेर थोरै समय पर्खें तर तिमीले टेरपुच्छर लाइनौ ! मलाई व्यवस्थित गर्ने सामग्री जुटाउने योजनै फितलो ! निर्देशनै अस्पष्ट ! कार्यन्वयनमा गजबको ढिलासुस्ती ! म त तिमी र तिम्रो काम गर्ने समूह देखेरै हैरान । छिटोछरितो प्रणाली खै ? समयको माग र सर्वसाधारण सदस्यहरुको आवश्यकता के हो ? चाल पाउन्नौ कि के हो प्रिये ?
तिमीलाई हाइसन्चै देखेर एकछिन त म स्तब्ध रहेँ । छिमेकबाट निस्केको म विश्व भ्रमण गरेर चार पाँच महिनापछि आउँदासम्म तिमीलाई हाइसन्च ? मलाई छेकथुन छैन ? बरु स्वागतको तयारी गरेजस्तो लाग्यो । हेर त तिम्रा सदस्यहरु जथाभावी प्रवेश गर्दै ! जसलाई जे सजिलो लाग्छ, त्यही गर्दै ! मानौं मेरो प्रवेश उनीहरुका लागि केही होइन ? मलाई नटेरेको कि कमिसनमा सहमति नजुटेको ? तिमी त चाहिनेभन्दा बर्तै अटेरी भयौ । आउँदै छ भनेर थाहा पाएपछि अलिकति त ओखतीमूलो बासबसाइको जोहो गरेको भए हुने नि ! आफू मातहतका साथीहरुलाई जिम्मेवारी दिएर परिपक्व अनुगमन खै ? मलाई त तिम्रो काम गर्ने विधिप्रक्रिया नमिलेको हो कि परिवारलाई दुःख दिने र तिमीलाई असफल बनाउने तिम्रा साख्खै भाइभतिजको दाउ ? ठम्याउनै धौ भो । सचेतता–सतर्कता त तिमी आफैले अपनाउने हो नि । वरिपरि झुम्मिनेहरुकै भरले त कहाँ पुग्छ र ? हरेक सदस्यलाई जिम्मेवार बनाउन सक्नुप¥यो । यस्तो विपत्को बेलामा पनि अर्थ अनियमितता नाक काटिने गरी दुर्गन्धित हुनु कति लाजमर्दो कुरा भो, तिमीलाई गह्ना छैन ?
तिमीले घेराभित्र देखे–सुनेका कुरामा सत्यता सारै कम हुन्छ प्रिये ! तिमीलाई घेर्नेहरु तिम्रो सुरक्षाका लागि मात्र उभिएका हुँदैनन् ! के थाहा तिमीलाई ढाल बनाएर आफू सुनको सातु खाँदै छन् कि ! यसरी तिम्रा नाक–कान दुखाएर आफूले गहना लाई वैयक्तिक मस्ती गर्नेलाई चिन्न नसकेर घरबार धमिरालाई खुवाउनु गल्ती भयो प्रिये ! इतिहास रच्न सजिलो हुँदैन, हरुवाको इतिहास रचिँदैन । कतै यिनीहरुको अन्तर्यमा कलङ्कित भएहोस् हामी गहना लाउनेहरु सजिइरहौं भन्ने छ कि ?
तिम्रा मित्रहरु जति छन् ती सबैलाई भेट्दै भेट्दै विस्तारै पुग्छु ताकि बन्दोबस्तीका लागि तिमीले समय पाउँछ्यौ राम्रै हुन्छ भन्ने सोचेको त तिमी मस्त निदाइछ्यौ नि प्रिये ! यदि तिमीले मेरो सूचना पत्याएर काम गरेकी हुन्थ्यौ भने आज तिम्रो परिवारका सदस्यहरु स्वास्थ्य सुरक्षाले मागे अनुकूलको सेवासुविधाबाट वञ्चित भई अस्तव्यस्त छटपटिनुपर्ने थिएन । गम्भीर भई मनन् गर, वरपिरिका दृश्य नियालेर आफैसँग सोध त सत्य के हो ?
प्रिय मौका आउँछ पर्खदैन, तिम्रा पुर्खा कति दूरदर्शी ? आज तिम्रा अगाडिको अवसर उहिल्यै बताइदिएका । ल, जे भो भइहाल्यो अब बिलम्ब नगरी तिमीले हिमाल पहाड तराई र गाउँसहर अझ भनौं विदेशमा रहेका आफ्ना युवा साथीहरुलाई निश्चित योजना,उचित व्यवस्थापन र आवश्यक सुविधा दिई कुशल कार्यन्वयन सहित कृषि उत्पादनमा परिचालन गर्ने सोच । यो उपयुक्त मौका हो । यसलाई औपचारिक भाषणमा सीमित राख्ने होइन बरु अरु काम विस्तारै गरेर यसलाई मन वचन कर्मले गति देऊ, तीव्र गति । हेक्का रहोस् जिम्मेवारी योग्य पात्रलले पाओस्, प्रत्यक्ष र छड्के, दुवै अनुगमन निरीक्षणमा कन्जुस्याइँ नहोस् । नवधनाढ्यको अञ्जुलीमा रमेर कर्तव्य पन्छाई पन्छाई अधिकारको खेतीमा रत्यौली खेल्ने हैन । यो त एउटै परियोजनालाई फरकफरक शैलीले चुनावी मुद्दा बनाएर परिवारजनलाई कष्ट दिने धूर्त परम्परा फेरेर सुखद परिणाम दिन नवीन योजना ल्याएर कार्यन्वयव गर्ने राम्रो साइत हो । यसैमा तिम्रो कल्याण छ । परिवारले राहत महसुस गर्छ तिमीले वर्षौंदेखि गर्दै आएको जनजीविका सहज बनाउने वाचा पनि पूरा हुन्छ । यसैले केही वर्ष अघि बन्द भएको आत्मनिर्भर हुने ढोका पनि खोल्छ । तिमीलाई थाहा हनपर्ने हो प्रलोभनमा पारेर आश्रित राखिरहने छिमेकी मित्रहरुको दाउभित्र लुकेर सुमसुम्याउने शैली र त्यसको भित्री गूढ अर्थ ।
बन्दाबन्दी मात्र समाधानको उपाय होइन, चेकजाँचमा तीव्रता खोइ ? सक्ने शुल्क तिर्छन् असमर्थलाई सहयोग देऊ, परीक्षणमा कन्जुस्याइँ र ढिलासुस्ती घातक भइरहेछन् । सुझबुझ, विवेक, इमान, नैतिक जिम्मेवारीबोध र आँटले दुलो खोजेको त होइन होला नि प्रिये ? मलाई विश्वास छ, तिमी आँ, गर्दा अलङ्कार बुझ्छ्यौ, यो सुझाव मनन् हुनेछ । यो आफ्नो पदीय जिम्मेवारीमा खरो उत्रने बेला हो । वैयक्तिक सुखसुविधाका पछि लाग्ने समय त हुँदै होइन । यो आफूलाई सक्षम कर्मयोगी प्रमाणित गर्ने बेला हो । तिम्रा साथीहरु परिस्थितिजन्य मूल्याङ्कन गर्न सक्ने भइसकेका छन् । त्यही अनुसार उपयुक्त परिणाम दिन सक्यौ भने तिम्रो जय हुनेछ । नबिर्स, अहिलेका सदस्य चिल्ला कुराले चिप्लिने शून्य चेतनामा सीमित छैनन् । तिमीलाई शक्तिमा पु¥याउने सदस्यहरु महामारीको चपेटामा परेर भोक–तिर्खाले छटपटिएको दुखद अवस्थामा रमिता हेरर बस्यौ भने परिणाम कस्तो आउला ? अहिले सर्वसाधारण सदस्यहरु गम्भीर सङ्कटबाट गुज्रिरहेका बेला मन फुकाएर जिम्मेवारीबोध गरिनौ र राम–राम भनेर पन्छियौ भने तिम्रो आवश्यकतामा काँध थाप्नेको अनिकाल नलाग्ला र ? अस्तु ।
उही तिम्रो शुभचिन्तक
कोरोना–१९
वि.सं.२०७७ जेठ २३ शुक्रवार १०:३४ मा प्रकाशित






























