३ असार, काठमाण्डौं । डडेल्धुरामा कोरोना भाइरसको नमुना परीक्षणका लागि मसिनको अभाव भएसँगै देश विदेशमा रहेका नेपालीहरुले स्वतस्फूर्त रुपमा मसिन स्थापनाका लागि आर्थिक सहयोग गरिरहेका छन् ।
ह्युमानिटी फाउण्डेसन र सुदूरपश्चिम समाज अमेरिकाद्धारा सञ्चालित सहयोग रकम संकलन अभियानमा छोटो अवधिममै आधा करोड वढी ( झण्डै ४८ लाख) रकम उठेको बताइएको छ ।
अभियानको सुरुवात श्याम तायल र मानसिंह सावद लगायत ह्युमानिटी फाउण्डेसनको तर्फबाट १८ लाख रकम उठेको थियो । पछिल्लो दुई दिनमा धनगढीबाट झण्डै १८ लाख, अमेरिकामा १० हजार तीन सय डलर उठेको अभियानकर्ताहरुले जानकारी दिएका छन् । साथै देश तथा विदेशमा रहेका मनकारीहरुबाट रकम उठ्ने क्रम जारी रहेको फाउन्डेशनले जनाएको छ । अभियानका अनुसार विहीवार मात्रै १५ लाख ७५ हजार रुपैया संकलन भएको थियो ।
त्यस्तै सुदूरपश्चिमका ७ वटा पहाडी जिल्लाका बासिन्दाको कोरोना परीक्षणका लागि डडेल्धुरामा स्थापना गर्न लागिएको पीसीआर मेसिनको खरीदका लागि बरिष्ठ उद्योगपति अग्रवालले फाउण्डेसनका अध्यक्ष श्याम तायल सहितको टीमलाइ १० लाख रुपैया हस्तान्तरण गरेका हुन् । ‘मैले पहाडमा अहिलेसम्म खुट्टा टेकेको छ्रैन । यद्यपि यो मन त पहाडमै छ,’ सहयोग रकम प्रदान गर्ने क्रममा उद्योगपति अग्रवालले भने, ‘यो पटक डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका क्रममा पाईला टेक्नेछु ।’
त्यस्तै आरपी ग्रुप सञ्चालक राजकुमार अग्रवालले ३ लाख ५१ हजार रुपैया सहयोग गरेका छन् ‘मैले जे जति कमाए । यही समाजबाट कमाए ।’ अग्रवालले भने, ‘समाज संकटमा परेका बेला मैले कमाएको सम्पत्ती यो समाजको काम नआए त्यसको के अर्थ । यही सोचले सहयोग गरेको हुँ ।’
त्यसैगरी बरिष्ठ आँखा चिकित्सक डाक्टर विद्याप्रसाद पन्तले च्यारिटी हेल्थ फाउण्डेसन र व्यक्तिगत तर्फबाट दुई लाख रुपैयाँ, सेति प्रादेशिक अस्पतालमा कार्यरत नर्स भवगती बडालले १० हजार रुपैयाँ, नेपाल टेलिकम वकर्स युनियन क्षेत्रीय समितिका अध्यक्ष दिपेन्द्र कठायतले युनियनका तर्फबाट १५ हजार रुपैया, मिश्र जनरल स्टोर, धनगढीले १ लाख रुपैयाँ, खेमराज मिश्र र उनीहरुका छोराहरु गणेश मिश्र र प्रशान्त मिश्रले पनि सहयोग गरेको फाउण्डेसनका अध्यक्ष श्याम तायलले जानकारी दिएका छन् ।
त्यस्तै अमेरिकामा आनन्द बिष्ट, रामवहादुर देउवा लगायतको अगुवाईमा अभियान चलिरहेको छ भने सुदूर पश्चिम समाज अमेरिकाद्धारा सवैभन्दा पहिले सुरु गरेको सहयोग संकलन अभियानलाई अमेरिकाका न्यूयोर्क, केन्टुकी, मेरिल्याण्ड, विस्ककिन्सन, टेक्सास, क्यालिफोर्निया, भर्जिनिया, म्यासाचुट्समालगायतमा अभियान सञ्चालित भएको बताइएको छ । हालसम्म अमेरिकाबाट १० हजार तीन सय अमेरिकी डलर अर्थात १२ लाख ५८ हजार नेपाली रुपैया आईसकेको छ भने त्यहाँ रहेका एक नेपालीले अमेरिकाबाट उठ्ने वरावरकै रकम आफूले व्यक्तीगत रुपमा सहयोग गर्ने घोषणा गरेको पनि बताइएको छ ।
त्यस्तै युरोपका वेल्जियम, नर्वे, वेलायत, डेनमार्क लगायतका पनि अभियानका लागि रकम उठ्ने क्रम जारी छ । युरोपमा एनआरएनए युरोप महिला संयोजक योगिता थापा (वेल्जियम), जितेन्द्र शाही (नर्वे), महेश खत्री (डेनमार्क), सुरेन्द्र ढुंगाना (बेलायत) ले अभियानको नेतृत्व गरिरहेका छन् ।
एनआरएनए अभियन्ता स्वतन्त्र प्रताप शाहले अस्ट्रेलियामा पनि अभियान संञ्चालन गरेका छन् । उनले हालसम्म ८ सय अष्टेलियन डलर संकलन भएकोमा १० हजार डलर संकलन गर्ने लक्ष्य राखेको बताए । साथै दक्षिण कोरियामा अग्नी कोईराला, जापानमा आशिष रावललगायत यस अभियानका लागि लागि परेका छन् ।
त्यसैगरी हाल अप्रिलकाको नाइजेरियामा रहेका गैरआवासीय नेपाली अभियन्ता हिक्मत थापाले संसारभरीका नेपालीमा सहयोगको अपिल समेत गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व केन्द्रिय कोषाध्यक्ष समेत रहेका थापाले हालको अवस्थामा धनगढीमा रहेको एकमात्र प्रयोगशालाले धान्नै नसकिने गरी कोरोनाको नमुना जाँचका लागि थ्रोट श्वाव संकलन भएको र सुदुर पश्चिमका सातवटा पहाडी जिल्लाको केन्द्रमा रहेको डडेल्धुरा अस्पतालमा मेसिन थपिनु अत्यन्तै आबश्यक रहेको बताएका छन् ।
नेपाली जनसम्पर्क समिती अमेरिकाका अध्यक्ष एवं नेपाली काङ्ग्रेसका आमन्त्रित केन्द्रिय सदस्य आनन्द बिष्टले संसारभरका सुदुरपश्चेमिलीहरु र शुभचिन्तकहरु समक्ष आ–आफ्नो तर्फबाट सहयोग गरिदिन अनुरोध गरेका छन् ।
वि.सं.२०७७ असार ३ बुधवार १५:५४ मा प्रकाशित





























