१३ असार, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को स्थायी समितिको बैठकमा शनिबार २१ जना नेताहरुले धारणा राखेका छन् ।
स्वास्थ्यका कारण देखाएर प्रधानमन्त्रीले अध्यक्षता गर्न नसकेपनि बैठक प्रचण्डको अध्यक्षतामा चालु भएको जनाइएको छ । प्रधानमन्त्रीको चाहना बमोजिम बालुवाटार निवासमै चलिरहेको बैठकमा शनिबार २१ जना नेताहरुले धारणा राखेका हुन् ।
सो पार्टीका सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार १० गते पारीत एजेण्डाका अनुरुप नै बैठक चलिरहेको, मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्ने गरी नक्सा सार्वजनिक भएको, संविधान संसोधन भै निशान छाप आइसकेको र राष्ट्रिय एकताको आधार बनेको विषयमा आजका वक्ताहरुले धारणा राखेका छन् ।
हतार नगरीकन सकरात्मक निष्कर्षतर्फ जानकै लागि बुँदागत छलफल भएको भन्दै नेता श्रेष्ठले वक्ताहरुको संक्षेपीकरण प्रस्तुत गर्दै आगामी बैठक असार १६ गते बालुवाटारमै हुने जानकारी दिएका छन् । असार १४ गते मदन जयन्ति र असार १५ गते किसान पर्वका कारण बैठक सरेको भएपनि कोभिड- १९ को प्रभाव र सरकारी प्रयास, सरकार–पार्टी सम्बन्ध तथा पार्टी एकताका बाँकी काममा क्रमश छलफल जारी रहेको उनले बताएका छन् ।
नेता श्रेष्ठका अनुसार शनिबारको बैठकमा देवेन्द्र पौडेल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, जर्नादन शर्मा, गिरिराजमणि पोखरेल, रघुजी पन्त, सत्यनारायण मण्डल, टाेपबहादुर रायमाझी, नन्दकुमार प्रसाईं, युवराज ज्ञवाली, लेखराज भट्ट, मणि थापा, प्रदीप ज्ञवाली, घनश्याम भुसाल, शक्ति बस्नेत, वामदेव गौतम, योगेश भट्टराई, विष्णुपुकार श्रेष्ठ, पुष्प कंडेल, ईश्वर पोखरेल र पृथ्वी सुब्बा गुरुङ लगायत २१ भाइले धारणा राखेका हुन् ।
वि.सं.२०७७ असार १३ शनिवार १७:५७ मा प्रकाशित






























