१४ असार, मुगु । कोरोना महामारी फैलिरहेको अबस्थामा डाक्टर गोबिन्द केसी हिँडेरै हुम्लाको दुर्गम गाउँमा पुगेर डेढसय स्थानीयको स्वास्थ्य परिक्षण र औषधिउपचार गरेका छन् ।
केसी पैदल यात्रामार्फत सुदूरपश्चिमको दार्चुला, डडेलधुरा र बाजुरा हुँदै हुम्लाको बिकट ताँजाकोट गाउँपालिकामा पुगेर गाउँमा दुई दिनसम्म स्वास्थ्य शिबिर संचालन गरि हड्डी तथा हाडजोर्नी सम्बन्धि डेढसय स्थानीयलाई सेवाप्रदान गरेका हुन् ।
कोरोना महामारीका बेला समाजिक दूरी कायम गर्दै ताँजाकोट गाउँपालिकाको महिला स्वास्थ्य केन्द्रमा संचालन गरिएको स्वास्थ्य शिबिरमा महिला, पुरुष बालबालिकालाई चेकजाँच गर्नुका साथै बिरामी देखिएका ब्यक्तिलाई औषधि उपचार समेत गरेका छन् ।
हिँडेरै यहाँ आइपुगेका केसीले करिव डेढसय स्थानीयलाई राम्रो औषधि उपचार स्वास्थ्य सम्बन्धी सल्लाह दिएर फर्किएको ताँजाकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्लले बताए ।

‘कोरोना महामारीको बेला डाक्टर केसी हाम्रो गाउँमा आइपुग्दा सारै खुशी लागेको छ,’ उनले भने, ‘बिरामीले पनि उहाँबाट सेवा लिन पाएका छन् ।’ केसी गाउँमा पुगेको खबर पाएपछि बुढापाका, महिला तथा दिर्घरोगी आफ्नो स्वास्थ्य परिक्षण गराउन आएका थिए ।
आफै औषधि बोकेर एक्लै ताँजाकोट गाउँपालिकामा पुगेको डाक्टर केसीले दुई दिन सम्म खटिएर स्थानीयको स्वास्थ्य परिक्षण गर्दै बिरामीको औषधिउपचार गरेको फेज नेपालकी अनमि अनिता श्रेष्ठले बताइन् ।
‘यस्तो बेलामा डा. केसी हिँडेरै यस्तो बिकट ताँजाकोट गाउँपालिकामा पुगेर बिरामीको सेवा गर्नुहुन्छ भन्ने हामीले सोचेकै थिएनौं,’ श्रेष्ठले भनिन् ‘डा. केसी, एक्कासि यहाँ आएर हुम्लीको सेवा गरेर फर्किनु भयो ।’
सुदूरपश्चिमबाट हिँडेर हुम्ला पुगेका डाक्टर केसीले हुम्ली महिला पुरुष बालबालिका र बुढापाको स्वास्थ्य समस्याबारे जानकारी लिँदै औषधिउपचार गरेको नेपाल बिधार्थी संघ हुम्लाका अध्यक्ष धर्मराज जैसीले बताए ।
वि.सं.२०७७ असार १४ आइतवार २०:३४ मा प्रकाशित






























