
काठमाडौं । मंगलबार सेयर बजार चम्किएको छ । लकडाउन पछि सोमबारबाट खुलेको बजार दोस्रो दिन चम्किएको हो । सोमबार बजार खुलेको ४० मिनेटमा ४ प्रतिशतको गिरावट देखिएपछि नकारात्मक सर्किट लागेर बजार २० मिनेट बन्द भएको थियो । त्यसपछि खुलेको बजार बन्द हुँदा करिब १२ अंकले मात्र घटेको थियो । तर मंगलबार भने मार्केट बुलिङ् भएको छ । बजार खुलेको १ घण्टा १७ मिनेटमा बजार परिसूचक ५ प्रतिशतले बढेपछि नेप्सेमा सर्किट लागेको थियो । सर्किट लागेर ४० मिनेट पछि खुलेको बजार पुन दोस्रो पटक १ बजे ६ प्रतिशतले उकालो लागेपछि आजका लागि बजार बन्द भएको छ ।
समग्रमा आज बजार परिसूचक ७२.०५ अंकले बढेर १२६०.७५ मा पुगेको छ भने करोबार भएका अधिकांस समूहको परिसूचक उकालो लागेको छ । होटल र सामुहिक लगानीकोष बाहेक सबै १० वटा समूहमा हरियाली देखिएको छ । त्यसमा बीमा क्षेत्र चम्किंदा नेप्सेमा बुलिङ भएको देखिएको छ । त्यस्तै २२ करोड ७२ लाख १२ हजार १९४ रुपैयाँ बराबरको ४ लाख ८९ हजार ५३७ कित्ता सेयर किन बेच भएको छ ।
आजको कारोबारमा सबैभन्दा बढी कमाउनेमा जीवन बीमा कम्पनी समूहका लगानीकर्ताहरु रहेका छन । उनीहरुले मंगलबार मात्र ६३४.९८ अंकले कमाएका छन । यो समूहका लगानीकर्ताले अघिल्लो दिन पनि कमाई गरेका थिए ।
त्यस्तै गुमाउनेमा होटल समूहका लगानीकर्ताहरु रहेका छन । उनीहरुले आज ४७.८४ अंकले गुमाएका छन । लकडाउनका कारण होटल क्षेत्र बन्दको अबस्थामा छन । लकडाउनको मार यो क्षेत्रमा परेको परेर पनि लगानीकर्ता पछाडी हटेको जस्तो देखिएको छ ।
नागरिक लगानी कोषका लगानीकर्ताहरुले सबैभन्दा बढी कमाएका छन । उनीहरुले २०७ अंकले कमाएका छन । बजार बन्द हुँदा उसको परिसूचक २२७७ अंकमा पुगेको छ । त्यस्तै सबै भन्दा धेरै गुमाउनेमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका लगानीकर्ताहरु रहेका छन । उनीहरुले आज ३८ अंकले गुमाएका छन । बजार बन्द हुँदा उसको परिसूचक ३४४ अंकमा झरेको छ ।
त्यस्तै करोबार रकमको आधारमा हिमालयन डिस्टिलरि पहिलो स्थानमा रहेको छ । उसले ३ करोड ६४ लाख ३८ हजार ६० रुपैंयाँ बराबरको करोबार गरेको छ । सोमबार पनि उसले बढी कारोबार गरेको थियो ।
सेयर संख्याको आधारमा नेपाल लाईफ नै पहिलो स्थानमा रहेको छ । उसको ३० हजार ३४० कित्ता सेयर किनबेच भयएको नेप्सेले जनाएको छ । मूल्य घटेपछि नेपाल पूनर्बीमा कम्पनीको सेयरको लेनदेन सबैभन्दा बढी पटक भएको जस्तो देखिएको छ । उसको सेयर ५५१ पटक लेनदेन भएको छ ।