Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

आधुनिकतामा संस्कृत शिक्षाको महत्व र उपादेयता



सरकारले पनि संस्कृत शिक्षालाई पुनः स्वीकृति प्रदान गरेको छ र कक्षा १ देखि ८ सम्म आधारभूत तहको पाठ्यक्रम निर्माण गरेको छ तर यसलाई अनिवार्य भने गरेको छैन । अन्य मातृभाषाका पाठ्यक्रम निर्माण गर्ने क्रममा संस्कृतलाई पनि एउटा भाषाको रूपमा समावेश गरी ऐच्छिक बनाएको छ । विश्वले संस्कृतलाई खोज अनुसन्धानको विषय बनाइरहेको बेला संस्कृत शिक्षाले पुनः प्रवेश पाउनुलाई सकारात्मक लिनुपर्छ । यसले संस्कृतको महत्व बुझेका र संस्कृतलाई प्रेम गर्नेहरूमा खुशीको सञ्चार गरेको छ ।

हिमवत्खण्डमा हिमालयका धवल श्रृंखलाका काखमा, प्रकृतिको अनुपम सौन्दर्ययुक्त सुन्दर शान्त र पवित्र वातावरणमा बसेर हाम्रा ऋषिमुनिहरूले कठोर तपस्याद्वारा वेदका मन्त्र देखे र सुने । यी देखे सुनेका मन्त्रलाई लिपीवद्ध गर्न उनीहरूलाई यस्तो भाषाको आवश्यकता भयो जसले मन्त्रको शक्ति र शुद्धतालाई वहन गर्न सकोस् । जुन सर्वसाधारणको पहुँचमा सजिलै पुग्न सकोस् । यसका लागि उनीहरूले आफूले प्राप्त गरेको देववाणीलाई नै परिष्कृत गरे । त्यसलाई व्याकरणका शुत्रमा आबद्ध गरी सरल बनाए । यहीँ हिमालय क्षेत्रको पवित्र भूमिमा बसेर अथक साधनाद्वारा आफूले देखे सुनेका मन्त्रलाई उक्त परिष्कृत भाषामा लिपिबद्ध गरी थुप्रै ग्रन्थ तयार पारे र तिनमा वैज्ञानिक शोध, अनुसन्धान, इन्जिनियरिङ, वास्तु, ज्योतिष, खगोल, राजनीति, अर्थ, साहित्य र दर्शनजस्ता अनेकौ विधाहरूको ज्ञान प्रशस्त पोखिदिए । यिनै ग्रन्थमध्येको सबभन्दा प्राचीनग्रन्थ ऋग्वेद आज संसारकै सबभन्दा प्राचीनग्रन्थ र संस्कृतभाषा सबभन्दा प्राचीनभाषा प्रमाणित भएको छ । हिमालयक्षेत्रमा अवस्थित विश्वकै सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको हाम्रो देश नेपाल त्यो पवित्र भूमि मध्येको एक हो, जहाँबाट ज्ञानको मूल फुटेर निस्केका अजस्र ज्ञानधाराले विश्वलाई नै सिञ्चित गरिरहेका छन्।

संस्कृतको अर्थ नै संस्कार गरिएको, शुद्ध पारिएको, परिमार्जन गरिएको, संशोधित, अलंकृत भन्ने हुन्छ । त्यसैले परिष्कृत गरिएकोले देवभाषालाई संस्कृत भनिएको हो । यो माधुर्य र लालित्यले भरिपूर्ण छ । यो अति शुद्व र वैज्ञानिक छ । यो ब्रह्माण्डमा व्याप्त ध्वनिमा आधारित छ । संस्कृतका विद्वानहरूका अनुसार ब्रह्माण्डबाट निस्कने १०८ध्वनिमा संस्कृतको वर्णमाला आधारित छ । यसमा अथाह शब्दभण्डार छ र थोरै शब्दमा अनन्त अर्थ समेट्न सक्ने वाक्य गठनको क्षमता छ । संस्कृत बोल्दा र लेख्दा एउटै संरचना हुने भएकोले यसमा द्विअर्थी वाक्य हुँदैन । सबभन्दा महत्वपूर्ण कुरा त यसमा लेखिएका ग्रन्थहरूमा सृष्टिको रहस्यदेखि आधुनिक टेक्नोलोजीसम्मका सम्पूर्ण ज्ञान निहित छ । यिनै ग्रन्थका आधारमा पूर्वीय सभ्यताबाट विश्वले शून्यअंक प्राप्त गर्यो । यसपछि मात्र नौ अंकमा सीमित रहेको गणितले पूर्णता पाएको हो ।

आज विज्ञानका हरेक चमत्कारमा शून्यले महत्वपूर्ण भूमिका खेलेको छ । अहिले आएर अन्तरिक्ष सम्बन्धि खोज अनुसन्धान गर्ने केन्द्र (नासा) ले ब्रह्माण्डको ध्वनि पत्तालगाएको छ र यो ध्वनि संस्कृतको अति शक्तिशाली मन्त्र ॐसँग मिल्दोजुल्दो भएको बताएको छ । नासाले संस्कृतको महत्व बुझेर यस सम्बन्धि अध्ययन अनुसन्धान अघि बढाएको छ । थोरै शब्दमा वाक्य बन्ने, द्विअर्थी वाक्य नहुने र ध्वनिमा आधारित भएकोले आउदा दिनमा अन्तरिक्षमा कुनै पनि सन्देश पठाउनका लागि सबभन्दा उपयोगी भाषा संस्कृत हुनसक्ने अनुमान नासाका वैज्ञानिकहरूले गरेका छन् र यसको लागि विभिन्न खोज अनुसन्धान भइरहेका छन् । उनीहरूले भविष्यमा कम्प्युटरको भाषा संस्कृत हुने प्रवल सम्भावना रहेको बताएका छन् ।

विद्वानहरूका भनाइ अनुसार संस्कृत सबै भाषाको जननी हो । संसारका धेरै भाषाको नसा संस्कृतसँग जोडिएको हुनाले यसलाई विश्वभाषा मान्न सकिन्छ । संस्कृतको महिमा बुझेका पश्चिमाहरूले संस्कृत शिक्षाबाट ज्ञान आर्जन गर्नका लागि थुप्रै विश्वविद्यालयहरू स्थापना गरेका छन् । हाल विश्वमा ४० देशका २५४ वटा विश्वविद्यालयमा संस्कृत पढाइ हुन्छ । जर्मनीमा मात्रै १४ वटा विश्वविद्यालय तथा धेरै विद्यालयहरूमा संस्कृत पढाइन्छ । अमेरिकामा पनि केहीँ विश्वविद्यालयहरूमा संस्कृत अध्ययन अध्यापनको कार्य हुने गरेको छ । यस्तै अरू धेरै देशका विश्वविद्यालयहरूमा पनि संस्कृतको पठन पाठन भइरहेको छ । पश्चिमाहरूले हाम्रा ग्रन्थको अध्ययनबाट खगोल, गणित, वैज्ञानिकशोध तथा अनुसन्धान जस्ता विषयहरूको ज्ञान हासिल गरी त्यसलाई सूचना, प्रविधि र अनुसन्धानमा प्रयोग गरेर एकपछि अर्को अभुतपूर्व सफलता प्राप्त गरिरहेका छन् । हाम्रै ग्रन्थका अध्ययनबाट प्रभावित भएर धेरै कवि, साहित्यकार तथा दार्शनिकहरूले आ– आफ्ना क्षेत्रमा यसको प्रयोग गरेर ख्याति प्राप्त गरेका छन् र संस्कृत साहित्यको व्यापकताको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

तर दुःखका साथ भन्नुपर्छ हामी यति भाग्यमानी भएर पनि, यिनै ऋषिमुनीका सन्तान भएर पनि यो विशाल ज्ञानको भण्डारको स्रोतमै बसेर पनि यो गौरवगाथा गाउनु सिवाय अहिले हामीसँग केहीँ छैन । हामी रित्तो भएका छौ । हामीले संस्कृतको विराटता र बैज्ञानिकतालाई बुझ्नै सकेनौ । संस्कृतलाई धर्मसँग मात्र जोडेर यसको व्यापकतालाई साँघुरो बनाइदियौँ । पश्चिमी सभ्यताको चकाचौंधमा फसेर हामीले यो ज्ञानको भण्डारको उपेक्षा गर्यौ र यसलाई बिस्तारै छोड्दै गयौँ । नेपालमा लिच्छिविकालसम्म आइपुग्दा पनि संस्कृतभाषाको अत्यधिक प्रचलन रहेको पाइन्छ । लिच्छविकालका सबै अभिलेखहरू संस्कृतमै लेखिएका छन् । मल्लकालमा पनि यसको स्थिति मजबुत नै देखिन्छ । त्यसपछि समाजमा बिस्तारै अन्य भाषाहरू जन्मिदै गए र संस्कृतलाई प्रतिस्थापन गर्दै गए । राणाशासनकालसम्म आइपुग्दा संस्कृत निकै कमजोर बन्न पुग्यो । यद्यपि राणाहरूले ठाउँ ठाउँमा संस्कृत विद्यालयहरू खोलेका थिए तर यसले कर्मकाण्डबाहेक खासै उपलव्धि दिलाउन सकेन । २८ सालमा नयाँ शिक्षा योजना लागू भएपछि सरकारका तर्फबाट संस्कृत शिक्षाका लागि कुनै महत्व दिइएन जसले गर्दा कुनै कुनै विद्यालयमा ऐच्छिक विषयको रूपमा र गुरूकुलहरूमा मात्र यो सिमित भयो र झन्झन् ओझेलमा पर्यो । २०४३ सालमा संस्कृत विश्वविद्यालयको स्थापना त भयो तर यसले पनि संस्कृतको ज्ञानपक्षलाई उजागर गर्न सकेन । माओवादी जनयुद्ध शुरूभए एता त झन् संस्कृत विद्यालयहरूमा नियोजित आक्रमण गरी त्यसलाई ध्वस्त बनाउने काम नै शुरू भयो । संस्कृतशिक्षा कै कारण जातपात छुवाछुत जस्ता कुप्रथा जन्मिएको हो, संस्कृत भनेको बाहुनहरूको मागीखाने भाडो हो, यो मरिसकेको भाषा हो भन्ने दुष्प्रचार गरियो र संस्कृत पढने पढाउनेमाथि शत्रुको व्यवहार गरियो । फलस्वरूप ०४६ सालको जनआन्दोलनबाट प्राप्त प्रजातान्त्रिक सरकारले सरकारी स्तरमा पढाइहुने सम्पूर्ण संस्कृत पाठ्यक्रमलाई नै खारेज गरिदियो । त्यसपछि केहीँ गुरूकुलहरूमा मात्र संस्कृत पढाइहुन थाल्यो जसले संस्कृतलाई बेहोशी अवस्थामा भएपनि जिवित राख्ने काम गर्यो ।

अन्तर्राष्ट्रिय जगतमा संस्कृतको महत्त्वले तरंग पैदा गरेपछि नेपालमा जनस्तरबाट संस्कृतप्रति चासो देखाउन थालिएको छ । युवाहरू संस्कृततर्फ आकर्षित हुन थालेका छन् । अनलाइन कक्षाको माध्यमबाट संस्कृत सिकाउन थालिएको छ । सरकारले पनि संस्कृत शिक्षालाई पुनः स्वीकृति प्रदान गरेको छ र कक्षा १ देखि ८ सम्म आधारभूत तहको पाठ्यक्रम निर्माण गरेको छ तर यसलाई अनिवार्य भने गरेको छैन । अन्य मातृभाषाका पाठ्यक्रम निर्माण गर्ने क्रममा संस्कृतलाई पनि एउटा भाषाको रूपमा समावेश गरी ऐच्छिक बनाएको छ । विश्वले संस्कृतलाई खोज अनुसन्धानको विषय बनाइरहेको बेला संस्कृत शिक्षाले पुनः प्रवेश पाउनुलाई सकारात्मक लिनुपर्छ । यसले संस्कृतको महत्व बुझेका र संस्कृतलाई प्रेम गर्नेहरूमा खुशीको सञ्चार गरेको छ ।

हामी नेपालीहरूको त मूल नै संस्कृत हो । हामीले ज्ञानका लागि विगतमा लेखिएका शास्त्र पुराण पढ्नमात्र हैन आफ्नो ईतिहास जान्न पनि संस्कृत जान्न आवश्यक छ । राष्ट्रिय अभिलेखालयमा रहेका धेरै जसो अभिलेखहरू संस्कृत मै रहेका छन् । वुद्धका देशका हामीले वुद्धलाई जान्नका लागि पनि संस्कृत जान्न आवश्यक छ । वुद्ध धर्मका ग्रन्थहरू पनि प्रायः संस्कृतमै लेखिएका छन् । नेपालका सबै मातृभाषाको जननी संस्कृत भएकाले यिनको शुद्धताको लागि पनि संस्कृत अति आवश्यक छ । आफ्ना सन्तानलाई संस्कारी र नैतिकवान बनाउन पनि संस्कृत सिकाउन जरुरी छ । अहिलेको स्वार्थी र संकुचित सोच भएको समाजमा आफ्ना सन्तानलाई (वसुधैव कुटुम्बकम) र (विश्व बन्धुत्व) को अर्थ बुझाउन पनि संस्कृत आवश्यक छ । अब त झन नासाले नै संस्कृतको महत्वलाई स्वीकारिसकेको अवस्थामा भविष्यमा प्रविधि मैत्री हुन र अन्तरिक्षको अध्ययनमा सहभागी हुन समेत संस्कृत जान्न अत्यावश्यक भइसकेको छ । यस परिप्रेक्षमा आशा गरौँ ज्ञान विज्ञानमा संस्कृतको महत्व र उपादेयतालाई ध्यानमा राखी आउदा दिनहरूमा सरकारले आफुले चालेको यो सानो कदमलाई अझ फराकिलो बनाउने छ र संस्कृतको उद्गमस्थलकै बासिन्दाद्वारा विश्वलाई संस्कृत सिकाउने वातावरण तयार पार्नेछ । कामना गरौँ जनस्तरबाट पनि उत्साहका साथ संस्कृत शिक्षाको माग बढने छ र संस्कृत आउदा दिनहरूमा कक्षा १ देखि विश्वविध्यालयसम्म कै अनिवार्य विषयमा गनिने छ । अस्तु ।
जयतु संस्कृतम् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई भेटेकी

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा